यसरी स्खलित हुँदैछ प्रचण्डको राप–ताप, गुम्यो निर्णय गर्ने क्षमता
सशस्त्र विद्रोहबाट शान्तिपूर्ण राजनीतिमा अवतरण हुँदा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शक्तिको केन्द्रमा थिए । देशको राजनीति प्रचण्डको वरिपरी घुम्थ्यो। उनको वोली नै कार्यकर्तालाई कानुन वन्थ्यो। उनको आफनो दल मात्र होईन अन्य दलका नेता कार्यकर्ता समेत प्रचण्डको मुख ताक्थे।
२०६४ को संविधानसभामा प्रत्यक्षतर्फ ५० प्रतिशत सिट जितेर माओवादी संसदीय राजनीतिमा उदायो। तर, त्यसपछि भने प्रचण्डको क्रेज विस्तारै घट्दो क्रममा छ। लामो समय राजनीतिको केन्द्रमा रहेका प्रचण्ड अहिले पनि प्रभावी त छन् तर ‘किङमेकर’का रूपमा मात्रै।
प्रचण्डको भूमिका अहिले पार्टीलाई शक्तिशाली बनाउनेभन्दा पनि अरुलाई प्रधानमन्त्री बनाउन काँध थाप्ने नेताको रुपमा अगाडि वढेको छ। उनको जनयुद्धको राप र ताप स्खलित हुँदै गएको उनका पछिल्ला गतिविधि र अभिब्यक्तिले प्रष्ट पार्छन। ‘जनयुद्ध’ हाँकेका ३५ केन्द्रीय नेतामध्ये धेरैले प्रचण्डको साथ छोडिसके। मोहन वैद्य किरण, डा. बाबुराम भट्टराई, नेत्रविक्रम चन्द विप्लव, रामबहादुर थापा बादल लगायतका कमाण्डर अहिले उनको साथमा छैनन्। प्रतिस्पर्धी नेताले छोडेको पार्टीमा ३ दशकपछि पनि उनी निर्विकल्प अध्यक्षका रूपमा चुनिएका छन् ।
पछिल्लो समय प्रचण्डले निर्णय गर्ने क्षमता समेत गुमाउन थालेको भन्दै पार्टीका नेता÷कार्यकर्ताहरु नै गुनासो गर्न थालेका छन् । त्यसको असर पार्टीमा परेको छ। आठौँ महाधिवेशन सम्पन्न भएको दुई महिनासम्म पनि माओवादी पदाधिकारी विहिन छ। निर्णय गर्ने अधिकार पाएपनि उनले त्यो आँट गरेर पदाधिकारी छनौट गर्न सकेका छैनन् ।
शुक्रवारदेखि सुरु भएर सोमवार सकिएको केन्द्रिय कमिटी वैठकमा प्रचण्डले पदाधिकारी छनौट विषय नै प्रवेश गराएनन्। प्रचण्डलाई संगठनमा आफनो क्रेज घट्दै गएको र आफु एक्लिदै गएको अनुभव छ। त्यसैले वैठकमा उनी विवादमा पर्ने प्रस्ताव र निर्णय गर्न चाहँदैनन् ।
भयो पनि त्यस्तै सोमवारको वैठकमा प्रचण्डले प्रस्ताव गरेका माओवादीमा प्रस्तावित ९७ केन्द्रीय सदस्यमध्ये ५० जनाको मात्र नाम अनुमोदन भयो। उनले आफनै छोरी गंगा दाहाल र ज्वाइँ जीवन आचार्यको नाम समेत अनुमोदन गराउन सकेनन्। प्रचण्डले समानुपातिक र खुला क्लस्टरबाट केन्द्रीय सदस्यको नाम प्रस्ताव गरेका थिए । खुलाबाट ४२ र समानुपातिकबाट ५५ जना प्रस्ताव गरिएकोमा जम्मा ५० जनाको मात्रै नाम अनुमोदन भएको छ।
पदाधिकारी छनौटमा पनि प्रचण्डले आफनो असक्षमत प्रस्तुत गरे। खास गरी महासचिवका आकांक्षीलाई मनाउन उनलाई फलामको च्युरा चपाउनु सरह भएको छ। यो प्रस्ताव अगाडि ल्याए आफनो इमेज र संठनमै धक्का लाग्ने सम्भावना देखेपछि उनले त्यो प्रस्ताव नै वैठकमा नल्याएको नेताहरु वताउँछन् । अन्त्यमा चुनावपछि मात्रै यो विषय छलफल गर्ने सहमति गराएर उनले वैठक टुंग्याए।
अर्कोतर्फ वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ प्रचण्ड विरुद्ध आगो ओकलिरहेका छन् । शुक्रवारको वैठकमा पनि प्रचण्ड र नारायणकाजीका विचमा विवाद पर्यो । एमसीसी पास गर्न हुँदैन भन्दै आएका श्रेष्ठले त्यो विषयमा असहमति जनाएपछि प्रचण्डले पार्टी छोड्न निर्देशन दिए । तर, पछि फेरी एमसीसी वाहेक अरु विषयमा मिलेर जाउँ भन्दै फकाएपछि श्रेष्ठ केही समयका लागि चुप लागेका छन् । तर, शुक्रवारको वैठकमा एमसीसी प्रकरणमा फरक मत राखे। त्यसैले प्रचण्ड एमसीसीको विषय तन्काउँदै जाने र सेलाएपछि मात्रै छलफलको विषय वनाउने सोचमा पुगे। उनले एमसीसी पनि चुनावपछि मात्रै छलफल गर्ने सहमति गराएका छन् ।
प्रचण्डको यही दोधारे नीति, हरेक समय÷ठाउँमा खेल्न खोज्ने प्रवृत्ति र आफु कमजोर हुन नचाहने दम्भका कारण माओवादी केन्द्र अनिर्णयको वन्दी वन्दै गएको नेताहरुको गुनासो छ।
पुष्पकमल दाहाल ‘प्रचण्ड’