News

सिद्धबाबाको ब्रम्हचर्य तोडिदिएको मुद्दामा आज फैसला !

सिद्धबाबाको ब्रम्हचर्य तोडिदिएको मुद्दामा आज फैसला !

बलात्कारको आरोप लागेका सुनसरीको धरान स्थित चतराधाममा बस्ने सिद्धबाबा उर्फ कृष्णबहादुर गिरी विरुद्धको मुद्दामा आज सुनुवाइ हुँदैछ।

उच्च अदालत विराटनगरले आफ्नो वेबसाइटमा राखेको सूचना अनुसार ५ नम्बर इजलासमा वुधवार मुद्दाको सुनुवाइ हुनेछ । गिरी विरुद्ध उच्च अदालतमा २०७७ साल चैत २६ गते मुद्दा परेको थियो । 

सुनसरी जिल्ला अदालतको २०७७ मङ्सिर २२ गतेको फैसलामा सिद्धबाबा भनिने गिरीले एक भक्तालु महिलामाथि करणी गरेको स्वीकार गरिएको छ । गिरीबाट पीडित २६ वर्षीय महिलाले आफूमाथि बलात्कार नै भएकोले कारबाहीको माग गर्दै जिल्ला अदालत सुनसरीको फैसला विरुद्ध उच्च अदालतमा पुनरावेदन दर्ता गराएकी हुन् । 

गिरीले पनि जिल्ला अदालतको फैसलाले आफ्नो ब्रम्हचर्य तोडिदिएको भन्दै सफाइको मागसहित अर्को मुद्दा दर्ता गराएका छन् । दुवै मुद्दालाई एकै ठाउँमा राखेर अदालतले सुनुवाइ गरिरहेको छ ।  सम्भवतः बुधबार नै फैसला आउन सक्ने उच्च अदालत स्रोतको भनाइ छ । 

गिरीको स्थायी घर सोलुखुम्बु हो। उनी सुनसरीको बराहक्षेत्रस्थित पवित्र धार्मिक स्थलमा बस्ने र र आफूलाई बाल ब्रह्मचारी भएको दाबी गर्दथे । उनै धर्मगुरुले आफूलाई बलात्कार गरेको भन्दै २६ वर्षीय महिलाले ०७७ मंसिर ११ गते महानगरीय प्रहरी परिसर काठमाडौँमा उजुरी दर्ता गरेकी थिइन् ।

कात्तिक ४ गते सिद्धबाबाले आश्रममा बोलाएर आफूलाई अनुचित प्रभावमा पारी मोहित बनाएर बलात्कार गरेको ती महिलाको आरोप छ । ०७६ पुस १० गते गिरी विरुद्ध जिल्ला अदालत सुनसरीमा मुद्दा दायर भएको थियो भने ०७७ मङ्सिर २२ गते जिल्ला अदालत सुनसरीले फैसला सुनाएको थियो । 


सुनसरी जिल्ला अदालतका न्यायाधीश अर्जुनप्रसाद कोइरालाले ०७७ साल मङ्सिर २२ गते गरेको फैसलामा सिद्धबाबाले राजीखुशीमै महिलासँग यौनसम्बन्ध राखेको उल्लेख छ । जिल्ला अदालतको फैसलाले करणी पुष्टि गरेको छ ।

तर, धर्मगुरुको शरणमा परेको अवस्थामा आफूलाई अनुचित प्रभावमा पारेर करणी गरिएको हुनाले बलात्कारको आरोपमा सिद्धबाबालाई कानुनी कारबाही हुनुपर्ने महिलाको मागदाबी छ । 
 

सिद्धबाबा कृष्णबहादुर गिरी

विशेष