एमालेको पत्रकार सम्मेलनले भ्रम फैलियो, त्रासमा सर्वसाधारण
नेकपा एमालेबाट अर्थमन्त्री वनेका तीन जना नेताले आईतवार पत्रकार सम्मेलनको अयोजना गरी देश गम्भिर संकटतर्फ उन्मुख भईरहेको र बर्तमान अवस्थालाई सकारात्मक ढंगल हस्तक्षेप नगरे श्रीलंकाकै अवस्था भोग्नु पर्ने दावी गरेका छन्।
सरकारले राष्ट्र बैंकका गभर्नरलाई निलम्बन गरेपछि उत्पन्न अवस्था र मुलुकको बढ्थो आर्थिक संकटबारे पार्टीको दृष्टिकोण सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा पूर्वअर्थमन्त्रीहरु– एमाले उपाध्यक्ष विष्णु पौडेल, उपाध्यक्ष सुरेन्द्र पाण्डे र पूर्वगभर्नर समेत रहेका एमाले नेता युवराज खतिवडाले देशको आर्थिक अवस्था कमजोर हुँदै जानुमा वर्तमान सरकारनै सबैभन्दा ठूलो कारक भएको आरोप लगाए।
अहिलेको सरकारका कारण मूल्यवृद्धि अघिल्लो सरकारको बेलामाभन्दा दोब्बर भएको, जथाभावी मूल्यवृद्धि गर्ने र कृत्रिम अभाव सिर्जना गर्ने काम भइरहेको, वैदेशिक व्यापारघाटा देशले धान्नै नसक्नेगरी आकासिएको लगायत आरोप एमालेका नेताहरुले लगाएका छन्।
पुर्व गभर्नरसमेत रहेका खतिवडाले बैंकिङ प्रणालीमा अहिले लगानीयोग्य रहम नभएको भन्दै सरकारले एसलसी खोलेर अनावश्यक वस्तुको आयातमा अनुमति दिएकाले यो अवस्था आएको वताए । ‘बैंकिङ प्रणालीमा अहिले लगानीयोग्य रकम छैन । त्यो किन भयो भने बैंकिङ प्रणालीमा तस्करीको पैसा आउने भएन । कमिसनको पैसा आउने भएन । क्रिप्टो करेन्सिसहितका क्षेत्रमा लगानी भयो’ उनले भने–‘यसले कर्जा प्रवाह बढेर गयो तर बैंकमा पैसा फिर्ता आएन। सरकारले एलसी खोलेर अनावश्यक वस्तुको आयातमा अनुमति दियो । त्यो अवैध रुपमा निर्यात गर्दा त्यो पैसा पनि बैंकमा फिर्ता आएन । त्यसैले बैंकमा लगानीयोग्य रकमको अभाव भएको हो ।’
अर्कोतर्फ सत्ता पक्षले भने देशको अवस्था हल्ला गरिएजस्तो नभएको भन्दै भरोसा दिलाउने प्रयास गरिरहेको छ। मुख्यसचिव शंकरदास वैरागीले मुलुकको अर्थतन्त्र बाहिर सञ्चारमाध्यममा आएजस्तो डरलाग्दो नभएको दाबी गरेका छन्।
‘मुलुकको आर्थिक अवस्था बाहिर छापामा आएजस्तो डरलाग्दो होइन । हामीले यस्तो गलत सन्देश पटकै दिन हुँदैन,’ उनले भनेका छन्–‘हामी अर्थतन्त्रलाई नयाँ ढंगले अघि बढाउन सक्षम छौं भन्ने विश्वासका साथ काम गर्नुपर्छ ।’
यसरी सत्ता पक्षले हल्ला मात्रै हो भनिरहेको छ भने प्रतिपक्षीले नेपालको अवस्था पनि श्रीलंकाको जस्तै हुन थालेको दाबी गरेपछि आम नागरिक भने अन्यौलमा परेका छन् । देशको अवस्था साँच्चै श्रीलंकाकै अवस्थातर्फ उन्मुख भएको होकी भन्ने त्रास फैलिएको छ।
यो कुरा एमालेका नेता भीम रावलेको ट्वीटले पनि पुष्टि गर्छ। उनले देशको आर्थिक अवस्थाबारे दुईथरी कुरा भइरहेकाले वास्तविकता थाहा हुन नसकेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई श्वेतपत्र जारी गर्न आग्रह गरेका छन्।
‘राज्य चलाउनेहरू कोही देश गम्भीर संकटतर्फ जाँदै छ रोक्न तुरुन्त आवश्यक पाइला चाल्नुपर्छ भन्ने कोहीले भने त्यस्तो होइन सरकारविरुद्ध षडयन्त्रपूर्ण प्रचार हो भन्ने! खास के हो ? अर्थतन्त्रको विद्यमान अवस्था र सबै आर्थिक सूचकबारे सरकारलाई श्वेतपत्र जारी गर्न केले रोक्छ प्रम देउवाजी?’– रावलले ट्विट गरेर भनेका छन्।
आर्थिक अवस्था ध्वस्त पारेको तथा कार्यक्षमता अभाव देखिएको आरोप लगाउँदै सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबारे छानबिन गर्न समिति गठन गरेसँगै उनी निलम्बन भएका छन्। योसँगै देशमा सत्ता पक्ष र प्रतिपक्षबीच विवाद सुरु भएको हो।
यस्तो छ श्रीलंकाको अवस्था
टापु राष्ट्र श्रीलंका सन् १९४८ मा बेलायतबाट स्वतन्त्र भएपछि आएको सबैभन्दा ठूलो आर्थिक संकटमा छ। २ करोड २० लाख श्रीलंकनको जीवनमा ठूलो असर पारेको छ। राजधानी कोलोम्बोसहित विभिन्न सहरमा राष्ट्रपति गोटवाया राजापाक्षेको सरकारविरूद्ध प्रदर्शनहरू भइरहेका छन्।
आर्थिक संकटकै कारण कागज खरिद गर्न नसकेपछि विद्यालयको परीक्षासमेत रद्ध गर्नु परेको छ। परीक्षा रोकिँदा ४५ लाख विद्यार्थीले यस वर्षको परीक्षा दिन नसक्ने सम्भावना बढेको छ। वस्तु आयात गर्न डलरको अभाव छ । विदेशी मुद्रा अभावका कारण श्रीलंकाको ऊर्जा क्षेत्रसमेत गम्भीर रुपमा प्रभावित भएको छ । श्रीलंकावासीले लामो समयसम्म लोडसेडिङ व्यहोर्दै आएका छन् । औषधि, दूध, चिनी, दाल, चामल, तेल र अन्य खाद्य वस्तु खरिदका लागि पसलहरुमा मानिसहरुको लामो लाइन देखिन्छ ।
श्रीलंकाको विदेशी मुद्रा आर्जन गर्ने प्रमुख स्रोतमध्ये एउटा पर्यटन हो। सन् २०१५–१६ पछि आतंकवादका कारण श्रीलंकामा पर्यटनको आवागमन घट्न थाल्यो। तीन वर्षअघि इस्टर सन्डेका दिन कोलोम्बोका चर्च र पाँचतारे होटलमा भएको आतंकवादी हमलापछि त पर्यटक आउने क्रम रोकिएजस्तै भयो।
सन् २०१९ को अन्तबाट कोरोनाभाइरसको महामारी फैलियो। कोरोनासँगै विश्वभरका अर्थतन्त्रमा धक्का लाग्यो। कोरोनाको संक्रमण रोक्न महिनौंसम्म प्रतिबन्धहरू लगाइए। श्रीलंकामा पर्यटनको मुहान नै सुक्यो।
श्रीलंका अहिलेको अवस्थामा पुग्नुमा आतंकवादी हमला र कोरोनाको असर वाहेक श्रीलंकाले चीनलगायत मुलुकबाट लिएको ऋण पनि प्रमुख हो। श्रीलंकाले ऋण लिएर ठूला–ठूला परियोजना बनाएको थियो। ती परियोजना बनाउन लिएको ऋणको किस्ता वर्षेनी तिरिरहनुपर्छ।
यो पनि,
पेट्रोलको लाईनमै दुई जनाको मृत्यु, यसरी डुब्यो श्रीलंका