News

सरकारले वृद्ध भत्ता र कर्मचारीको तलव रोक्न सक्ने ओलीको आशंका

सरकारले वृद्ध भत्ता र कर्मचारीको तलव रोक्न सक्ने ओलीको आशंका

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको आर्थिक अवस्था बिग्रिएर गएका कारण सरकारले कर्मचारीको तलव र जेष्ठ नागरिकले सामाजिक सुरक्षा भत्ता रोक्न सक्ने आशंका गरेका छन् ।

आइतबार एमालेनिकट शिक्षक संगठनको कार्यक्रम उद्घाटन गर्दैै उनले सरकारले तलव र वृद्धभत्ता दिन नसक्ने अवस्था आए अन्यथा मान्नु नपर्ने जिकिर गरे । ओलीले देशको अवस्था श्रीलंकाको जस्तो बन्न लागेको दावी गरेका छन् ।

‘यो नेपालका लागि अनिष्टको समय हो। एमालेका लागि होइन देशका लागि । अहिले देशको अर्थतन्त्र हेनुहोस् त श्रीलंका बन्दै छ नेपाल’ उनले भने–‘केही समयपछि तनखा नपाए अनौठो नमान्नुहोला, तनखा दिन सक्ने अवस्था छैन । जेष्ठ नागरिकले भत्ता नपाए अनौंठो नमान्नुहोला, दिन सक्ने अवस्था छैन । योजनाहरु, आयोजनाहरु काटिदै छन् ।’

यस्तो अवस्थामा पनि एमालेलाई सरकारबाट हटाउन पाइयो भनेर गठबन्धनमा आवद्ध दलहरु खुसी भएर बसेको ओलीको भनाइ छ ।

एमालेलाई सरकारबाट हटाउन पाएकोमै गठबन्धनमा लागेका खुसी भएर वसेको उनले आरोप लगाए। ‘देश यस्तो अवस्थामा पुग्दा पनि गठेहरू छन् नि आनन्दमा छन् । प्रशन्न छन् । खुसी छन् । किनभने एमालेलाई रोकियो । एमालेलाई सरकारबाट हटाइयो । कति दिन हटाउने एमालेलाई सरकारबाट ?’ उनले भने–‘ढुंगाको काप फोरेर पनि उम्रन्छ पिपल । नेकपा एमाले त चुनावको वर्षायाम पर्खिरहेको छ । चुनावको वसन्तको याम पर्खिराखेको छ । चुनाव आयो कि एमाले त ढुंगाको काप फोरेर पनि उम्रिन्छ । गठबन्धन केही पनि होइन ।’

गठबन्धनले देशको अर्थतन्त्र ध्वस्त बनाएर देशलाई बर्बाद बनाउँदै लगेको पनि ओलीको आरोप थियो । 
 

विशेष