News विदेश

रुसले आक्रमण गरिरहेको किएभमा बेलायती प्रधानमन्त्रीको पैदल यात्रा

रुसले आक्रमण गरिरहेको किएभमा बेलायती प्रधानमन्त्रीको पैदल यात्रा

बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले रुसले आक्रमण गरिरहेको युक्रेनको राजधानी किएभ शहर पैदले भ्रमण गरेका छन्। अचानक युक्रेन पुगेका प्रधानमन्त्री बोरिस जोन्सन पैदलै भ्रमणमा निस्किएका थिए ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की भेट्न जोन्सन शनिबार अकस्मात् किएभ पुगेका थिए। बेलायती प्रधानमन्त्री जोन्सन पहिले जानकारी नदिईकन एक्कासि युक्रेन पुगेको बताइएको छ।

त्यस क्रममा उनले युक्रेनका राष्ट्रपति जेलेन्स्की भेटवार्ता गर्दै रुसविरुद्ध युक्रेनी नागरिकले देखाएको बहादुरीको प्रशंसा गरे र आफ्नो मुलुकले थप सैन्य सहायता दिने बताए। त्यसपछि दुवै जना राजधानी किएभका सडकको भ्रमण गर्न निस्किएका थिए । दायाँबायाँ सुरक्षाकर्मी राखेर उनीहरू सडकमा पैदलै घुमेको दृष्यहरु सार्वजनिक भईरहेका छन्।

रुसी सेनाले युक्रेनमा गत फेब्रुअरी २४ देखि आक्रमण जारी राखेको छ। तर मार्च २९ का दिन रुसले युक्रेनको राजधानी किएभनजिक रहेका आफ्ना सेना हटाएको छ। अहिले उसको आक्रमण पूर्वी युक्रेनतिर केन्द्रित छ। रुस र युक्रेनबीच पटकपटक वार्ता भए पनि सहमति हुन सकेको छैन, युद्ध जारी छ। 

रुसी आक्रमणका कारण किएभ छोडेर हिँडेका हजारौँ मानिसहरू स्थानीय अधिकारीहरूका चेतावानी माझ आफ्नो घर फर्किरहेका छन्। भिडिओ दृश्यहरूमा राजधानी प्रवेश गर्ने नाकाहरूमा मानिसहरूको लाम देखिन्छ।

किएभ क्षेत्रबाट रुसी फौज पछाडि हटेको भन्ने खबरले उनीहरु घर फर्किन हतार गरिरहेका छन्। बीबीसीले जनाए अनुसार लाममा बसेका केही स्थानीय बासिन्दाले आफूहरू प्रतीक्षा गर्दा गर्दा थाकेको बताएका छन्।
 

विशेष