News राजनीति

प्रधानमन्त्री देउवाकै गाउँपालिकामा चुनावी तालमेल अस्वीकार 

प्रधानमन्त्री देउवाकै गाउँपालिकामा चुनावी तालमेल अस्वीकार 

प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाको मतदाता नामावली रहेको डडेल्धुराको गन्यापधुरा गाउँपालिकामा नेपाली कांग्रेसको स्थानीय कार्य समितिले चुनावी तालमेल अस्वीकार गरेको छ। 

गन्यापधुरा गाउँपालिका– २ र ३ को वडा कार्यसमितिले चुनावी तालमेल आवश्यक नरहेको निर्णय गरिसकेका छन भने १, ४ र ५ का वडा कार्यसमितिले तालमेलबारे निर्णय गरिसकेका छैनन्। तालमेलबारे निर्णय नगरेको वडा नम्बर १ मा प्रधानमन्त्री देउवाको मतदाता नामावली छ। निर्णय गरिसकेका वडा कार्यसमितिले गाउँपालिका कार्यसमितिलाई पत्र पठाएका छन्।

तालमेलबिना जित्न सकिने भन्दै दुवै वडाले निर्णयसहित सिफारिस पत्र पठाएको कांग्रेस गन्यापधुराका सभापति इन्द्र कार्कीले जानकारी दिए। ०७४ को स्थानीय तह निर्वाचनमा ती दुवै वडामा कांग्रेस विजयी भएको थियो।  

०७४ को स्थानीय निर्वाचनमा वडा नम्बर १ मा कांग्रेस, ४ मा नेकपा माओवादी केन्द्र र ५ मा नेकपा एमाले विजयी भएका थिए। गाउँपालिका कार्यसमिति सभापति कार्कीले गन्यापधुरामा चुनावी तालमेल आवश्यक नरहेको आशय व्यक्त गर्दै वडा कार्यसमितिको सिफारिस माथिल्लो तहलाई जस्ताको त्यस्तै पठाउने बताएका छन्। 

चुनावी तालमेलबारे निर्णय गर्न बाँकी वडा कार्यसमितिले केन्द्रको निर्णय कुरेर बसेको सभापति कार्कीले बताए। डडेल्धुरा जिल्ला कार्यसमिति पनि केन्द्रको निर्णय कुरेर बसेको छ। 

जिल्ला नेतृत्वले चैत २० गते सत्ता गठबन्धनका दलसँग प्रारम्भिक  छलफल गरे पनि ठोस निर्णय गर्न सकेको छैन। प्रारम्भिक छलफलमा ती दलले डडेल्धुरामा चुनावी तालमेलविरुद्ध अभिव्यक्ति नदिने निर्णय गरेका थिए। 

कांग्रेस डडेल्धुराका कार्यवाहक सभापति डिल्लीराज जोशीले केन्द्रमा भएको गठबन्धनलाई जिल्लाले सकारात्मक रुपमा लिएको प्रतिक्रिया दिए। उनले जिल्लामा आफूहरु गठबन्धनमा रहेका दलहरूसँग अनौपचारिक छलफलमा रहेको पनि बताए। 
 

विशेष