News

विराटनगरको मेयरको दौडमा रहेका दुई पूर्वमन्त्री किन पाखा लगाईए ?

विराटनगरको मेयरको दौडमा रहेका दुई पूर्वमन्त्री किन पाखा लगाईए ?

आसन्न स्थानीय चुनावका लागि विराटनगर महानगरपालिकाको मेयरका आकांक्षी दुई पुर्वमन्त्रीलाई अन्तिम समयमा दौडबाट पाखा लगाईएको छ। विराटनगरको मेयरका लागि एमालेका तर्फबाट पूर्वमन्त्री लालबावु पण्डित र प्रदेशको सामाजिक विकास मन्त्रालयका पूर्वमन्त्री जीवन घिमिरेको नाम चर्चामा थियो ।

तर, अन्तिम समयमा उनीहरू दुवै जनाको नाम हटाईएको छ। घिमिरेले आफू फेरि प्रदेश सांसद उठ्ने र मुख्यमन्त्रीको जिम्मेवारी सम्हाल्ने तयारीमा रहेकोले महानगरमा मन नगरेको बताएका छन् । यसैगरी पूर्वमन्त्री लालबावु पण्डितले सर्वसम्मत हुँदा मात्रै आफु उम्मेदवार हुन चाहेको वताउँदै आकांक्षीहरु ५ जना भएकाले पछि हटेको जनाएका छन्।

दुई जनाको नाम हटेपछि विराटनगर महानगरपालिकाको मेयरमा नेकपा एमालले पाँचजनाको नाम सिफारिस गरेको छ । महानगर कमिटीले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा एमालेबाट मेयर पदमा उठ्न चाहेका आकांक्षी एमाले विराटनगर अध्यक्ष सागर थापा, केन्द्रीय सदस्य रामलाल साह, जिल्ला उपाध्यक्ष बावुराम कार्की, पशुराम बस्नेत र  नेता महेश भट्टराईको नाम सिफारिस गरेको हो।

बस्नेत र भट्टराई पार्टीको प्रदेश–१ कमिटी सदस्य हुन् । महानगर कमिटीको शनिबार बसेको बैठकले  उपप्रमुखमा पनि तीनजनाको नाम सिफारिस गरेको छ । शिल्पा कार्की, बिमला घिमिरे दाहाल र अन्जु उपाध्यय (शिला)को नाम सिफारिस गरेको पार्टीले जनाएको छ । कुनै एकजनाको नाममा सहमति नजुटेपछि सबैको नाम सिफारिस गरिएको हो भने अव महानगरको उमेदवार केन्द्रले टुंग्याउने छ । 

विराटनगर महानगरपालिका नेकपा एमाल

विशेष