भावी आइजिपीको रुपमा हेरिएका सिंहलाई सीआईबीको जिम्मा
प्रहरी नायव महानिरीक्षक (डीआईजी) बाट विहिवार प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएका धीरजप्रताप सिंहलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) प्रमुखको जिम्मेवारी दिइएको छ। यसअघि पनि सिंह सीआईबीमै कार्यरत थिए । डीआईजी प्रमुख रहने सीआईबीलाई सरकारले अबबाट एआईजी प्रमुख रहने बनाएको छ।
सिंहलाई भावी आईजिपीको रुपमा हेरिएको छ। नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्री ३० वर्षे सेवा अवधि पूरा गरेर विदा हुँदैछन् । ३० वैशाखमा हुन लागेको निर्वाचन भन्दा १० दिन अघि ०७९ वैशाख १९ मा उनी अवकाश जाँदैछन् ।
नयाँ थपिएका तीनसहित नेपाल प्रहरीमा अहिले आईजिपीको लाईनमा ८ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) छन् । तीमध्ये ३ जना आईजीपी शैलेश थापा क्षेत्रीसँगै अवकाशमा जान्छन् । उनीहरुको अवकाशपछि विश्वराज पोखरेल, सहकुल थापा, धीरजप्रताप सिंह, रवीन्द्र धानुक र वसन्त पन्तबीच आईजीपीका लागि प्रतिस्पर्धा हुनेछ।
केपी शर्मा ओली नेतृत्वको सरकारले ०७७ मंसिरमा विश्वराज पोखरेललाई नयाँ दरबन्दी सिर्जना गरेर एआईजीमा बढुवा गरेको थियो । त्यसपछि उनी भावी महानिरीक्षकका एकल दावेदार भए। तर, नेकपा (एमाले)को अर्को समूहले असन्तुष्टि जनाएपछि सहकुल थापालाई पनि नयाँ दरबन्दी थपेर ०७८ असार २४ मा एआईजीमा बढुवा गरियो। यो सँगै आइजिपीको लाईनमा दुई जनाको प्रतिस्पर्धा देखियो।
दुवै एआईजी हालको गठबन्धनका रोजाइका ब्यक्ति भने होइनन्। त्यसैले सरकारले एआईजीका ३ वटा पद थपेर सिंह, धानुक र पन्तलाई वढुवा गरेको हो।
०४९ साल चैत्र ११ गते प्रहरी निरीक्षक वनेका सिंह कार्यकुसलताका हिसावले अब्बल प्रहरी अधिकृत हुन । नेताको स्वार्थ वाझिएका कारण पछि परेपनि उनी अरुभन्दा सिनियर पनि हुन । उनले हरेक पदमा रहँदा आफनो कार्यकुशलता प्रस्तुत गरेका छन् । एसएसपी हुँदा प्रहरीको मनोवल खस्किएको समयमा उनले प्रहरीको अपराध महाशाखाको कमाण्ड सम्हालेका थिए ।
त्यतिबेला महाशाखामा काम गर्न त्यति सजिलो थिएन। ३३ किलो सुन प्रकरणमा दिवेश लोहनीसहित अन्य दुई प्रहरी अधिकारि पनि निलम्बनमै परे । त्यसपछि महाशाखा हाजिर भएका थिए एसएसपी धिरज प्रताप सिंह। महाशाखामा कार्यरत धेरै प्रहरीको मनोबल घटेको बेलामा उनीहरुको मनोबल उच्च राख्दै काम गराउँनु सिंहको पहिलो चुनौती थियो।
घैंटे इन्काउण्टरपछि शान्त रहेका गुण्डा सलबलाउन थालिसकेका थिए। राजनीतिक आवरणमा गरिने अपराध झन भयावह थियो। निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद कुमार गौचनमाथि दिनदहाडै गोलि हानिएको थियो। त्यस्तो समयमा महाशाखालाई पुरानै पोजिसनमा उभ्याउन उनले भरपुर प्रयास गरे।
सिंह महाशाखामा रहँदा प्रहरीले ४ इन्काउण्टर गर्यो। जसमा २ जना घाइते भए भने २ जना प्रहरी सँगको मुठभेट मारिए। ०७५ जेष्ठ २८ गते विभिन्न अपराधिक क्रियाकलापमा संलग्न अशोक लामामाथि प्रहरीले गोली प्रहार गरी नियन्त्रणमा लियो ।
०७५ असार ७ गते लुटपाटमा संलग्न खुडे भनिने सिन्धुपाल्चोक, बाह्रबीसेका अमरबहादुर तामाङलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलायो। ०७५ साउन २० गते सिन्धुपाल्चोक मेलम्ची नपा–९ ज्यामिरे घर भई काठमाण्डौ –३२ काँडाघारी बस्ने चमेली खड्काको छोरा वर्ष ११ को निशान खड्कालाई अपहरण गरी हत्या गर्ने नुवाकोट घर भएका गोपाल तामाङ र सिन्धुपाल्चोक कर्थली घर भएका अजय तामाङसँग प्रहरीको मुडभेड भयो। ०७५ साउन २१ गते भक्तपुर सुर्यविनायक–८ पाईलट बाबाको आश्रम जाने बाटोको जंगलमा भएको उक्त मुडभेडमा उनीहरुको मृत्यु भयो।
०७५ मंसिर २१ गते कालोपुलमा बिभिन्न डाँका, लुटपाटका घटनामा संलग्न रही फरार रहेका सुनसरीको ईटहरी–५ घर भई काठमाण्डौ– २९, अनामनगर बस्ने ४६ वर्षिय राजन लिम्बूलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलायो। लिम्बु घाईते भए। यस वाहेक पनि उनले धेरै काम गरेर देखाए जस्का कारण प्रहरीको मनोवल उच्च वनाउन सहयोग पुगेको प्रहरी अधिकारीहरु वताउँछन्।
यो पनि,
- सिंह, धानुक र पन्तको नाम एआईजी वढुवामा सिफारिस, ४ मध्ये को बन्ला आईजिपी ?
- चुनावको मुखैमा प्रहरी प्रमुख फेरिदैं, आईजिपीमा धिरजको चर्चा