News

एमालेको चुनावी सभामा बालबालिकाको प्रयोग, एक बालकको मृत्यु

एमालेको चुनावी सभामा बालबालिकाको प्रयोग, एक बालकको मृत्यु

नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्रि केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रमा सहभागि बढाउन ल्याइएका एक बालकको नदिमा डुबेर ज्यान गएको छ । 


बझाङको बित्थडचिर गाउँपालिका ०४ देउलेखका १५ वर्षिया कमल बोहराको सदरमुकाम चैनपुर भएर बग्ने बाहुली खोलामा डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ ।  

एमालेको चुनावी सभालाई सम्बोधन गर्न अध्यक्ष ओली, उपाध्यक्ष विष्णु पौडेल र एमाले नेता भानुभक्त ढकाल हेलिकप्टरमार्फत बझाङ पुगेका थिए । आयोजकले सदरमुकाम नजिकै बाहुली खोलाको किनारमा मञ्च तयार पारेको थियो । मध्यान्ह करिब ३ बजे ओलीले सभालाई सम्बोधन गरिरहेका थिए । त्यतीनै बेला एकहुल मान्छेहरु दगुर्दै छेउमै बगिरहेको बाहुली खोलातिर गए । एकछिनपछि चार जना प्रहरीले एउटा बालकको शव बोकेर आए । बालकको शव बोकेर प्रहरीको भ्यान जिल्ला अस्पतालतिर हुइकियो । मृतक बोहराको शव पोस्मार्टमका लागि जिल्ला अस्पताल सिमखेत लगिएको छ। यता ओलीको भाषण चलिनै रहेको थियो । ओलीले आफ्नो भाषण सके । हेलिकप्टर चढे र ओली एकैछिनमा अलप भए । 

एसइइको तयारी गर्दै थिए बोहरा 

मृतक बोहरा वित्थडचिरको देवेश्वरी माध्यामिक विद्यालयमा कक्षा १० मा अध्ययनरत थिए । बोहराको पढाई मध्यम स्तरको रहेको विद्यालयका प्रधानाध्यापक कविर महरले जानकारी दिए । प्रधानाध्यापक महर भन्छन्, ‘एसइइ तयारीका लागि विद्यार्थी विदामा थिय । त्यसैबेला उनका अन्य साथिहरुसँग एमालेको कार्यक्रममा सहभागि हुँदा यस्तो दुःखद घटना भएको रहेछ । एउटा विद्यार्थी गुमाउँदा विद्यालय परिवार निकै मर्माहत भएको छ । राजनितिक दलले यसरी कार्यक्रममा सहभागि गराउनु राम्रो होइन ।’ 


एमालेको चुनावी सभामा जनमास देखाउन बालबालिका समेत प्रयोग भएको पाईएको छ । जिल्लाका विभिन्न ठाउँबाट गाडि रिर्जभ गरेर मानिसहरुको ओसारपसार गरिएको जसमा अधिकांश बालबालिका समेत रहेको कार्यक्रममा सहभागि बताउँछन् । 

०७२ असोजताका सबै राजनीतिक दलहरुले बालवालिकालाई राजनीतिक गतिविधिमा प्रयोग नगर्ने भन्दै गरेको प्रतिबद्धताको उलंघन गर्दै बालवालिका ओसारेका कारण यस्तो घट्ना भएको स्थानीयहरु वताउँछन्। 

दलका नेताहरुले विद्यालयलाई शान्ति क्षेत्र बनाउने प्रतिवद्धता कार्यान्वयन गर्न ऐक्यबद्धता जनाउँदै ‘कुनै पनि दलगत क्रियाकलापमा बालबालिकाको प्रयोग गर्ने छैनौ’ भन्दै हस्ताक्षर गरेका थिए । तर,  त्यसयता ठूला राजनीतिक दलहरुले आफ्नै प्रतिबद्धताको खिल्ली उडाउँदै आएकाछन् । 

०७४ मा भएको स्थानीय तह, प्रदेश सभा सदस्य, प्रतिनिधिसभा सदस्य निर्वाचन प्रचारप्रसार लगाएतका कार्यक्रममा बालबालिकाको अत्यधिक प्रयोग भएको थियो। आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन प्रचार प्रसारमा पनि बालबालिकालाई प्रयोग भईरहेको छ। निर्वाचन आचारसंहितामा १८ बर्ष उमेर पुरा नभएका बालबालिकालाई निर्वाचन प्रचारप्रसारमा प्रयोग गर्न र गराउन नहुने उल्लेख छ । 

दलहरुले भने आफ्नै प्रतिबद्धता तोड्दै निर्वाचन आचारसंहिता विपरित चुनाव प्रचारप्रसार, आमसभा, पार्टी प्रवेश कार्यक्रमहरुमा बालबालिकाको प्रयोग गर्दै आएका छन् । दलहरुले गर्ने कार्यक्रममा नेताकार्यकर्ता भन्दा बालबालिकाको संख्या बढि देखिने गरेको छ ।

एमालेले चुनावी सभामा बालबालिकाको प्रयोग गरेकै कारण एक होनहार बालकको ज्यान गएको स्थानीयको भनाई छ। विप्लव नेतृत्वको नेकपाका नेता देवदत्त अवस्थीले यसलाई हत्याको संज्ञा दिएका छन् । उनी भन्छन्, ‘राजनितिक दलले १८ वर्ष मुनिका बालबालिकालाई कुनैपनि सभासम्मेलनमा सहभागि गराउनु अपराध हो । त्यो अपराध आज केपी ओलीले गरेका छन् । त्यसको सम्र्पुण जिम्मा एमालेले लिनुपर्छ ।’

 

बालबालिकासम्बन्धी ऐन, २०७५ को दफा ६६ को उपदफा २ मा राजनीतिक प्रयोजनका लागि बालबालिकालाई सङ्गठित गर्ने वा हडताल, बन्द, चक्काजाम, धर्ना, र जुलुसमा प्रयोग गर्न नहुने भनी उल्लेख गरिएको छ ।

यसलाई बालबालिकाविरुद्ध कसुरको रूपमा व्यवस्था गरिएको र यदि कोही कसैले सो कसुर गरेमा दफा ७२ मा ७५ हजार रुपियाँसम्म जरिबाना र तीन वर्ष कैदको व्यवस्था गरिएको छ ।

एमालेको चुनावी सभा बालकको मृत्यू

विशेष