News

भारतीय सांस्कृतिक सम्बन्ध परिषदको ७२औं स्थापना दिवस मनाईयो

भारतीय सांस्कृतिक सम्बन्ध परिषदको ७२औं स्थापना दिवस मनाईयो

काठमाण्डौंमा भारतीय सांस्कृतिक सम्बन्ध परिषद (आइसीसीआर) को ७२औं स्थापना दिवस मनाईएको छ। भारतीय राजदूतावासस्थित स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रको आयोजनामा नक्सालस्थित होटल मेरियटमा स्थापना दिवस मनाईएको हो।

आइसीसीआरका पूर्व विद्यार्थीहरुबीच मित्रताको सम्बन्धलाई अझ बलियो बनाउने उद्देश्यका साथ हाल जारी ‘इण्डिया एट सेभेन्टी फाईभ’ आजादीका अमृत महोत्सवकै एक हिस्साको रुपमा सो कार्यक्रमको आयोजना गरिएको हो।

उक्त कार्यक्रमको उद्घाटन नियोग उप–प्रमुख नामग्य खम्पाले गरेकी थिईन। कार्यक्रममा नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइराला, अभिनेत्री मनीषा कोइराला र नेपालका आइसीसीआरका पूर्व विशिष्ट विद्यार्थीहरुको उपस्थिति थियो।

सो अवसरमा नेपालबाट आइसीसीआरका दुई प्रतिष्ठित पूर्व छात्रहरु–काठमाडौं विश्वविद्यालयका उपकुलपति डा. भोला थापा र नेपाल क्लियरिङ्ग हाउसका प्रमुख कार्यकारी अधिकृत श्री निलेश प्रधानले भारतमा अध्ययन गर्दाका अनुभवहरु सुनाएका थिए।

अभिनेत्री कोइरालाले पनि कार्यक्रममा आफ्नो बाल्यकाल र भारतमा प्रारम्भिक शिक्षा लिदा बटुलेका अनुभवहरु सुनाएकी थिईन। कार्यक्रममा स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रका विद्यार्थीहरुले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।
 

विशेष