News राजनीति

कांग्रेसलाई साईजमा राख्न प्रचण्डले फाले फेरी ‘एमाले कार्ड’

कांग्रेसलाई साईजमा राख्न प्रचण्डले फाले फेरी ‘एमाले कार्ड’

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सत्तारुढ नेपाली कांग्रेसलाई साईजमा राख्न फेरी एमाले कार्ड प्रयोग गरेका छन् । कांग्रेसले चुनावी तालमेलको विश्वासिलो आधार नदिए नेकपा एमालेतिर जाने चेतावनी दिएका छन् ।

कांग्रेसले मंगलबार सम्पन्न केन्द्रीय कार्यसमिति बैठकमा ‘बहुसंख्यक स्थानीय तहमा विजयी बन्ने बलियो आधार र परिस्थिति निर्माण भइसकेकाले सत्ता गठबन्धनका दलहरुसँग स्थानीय अवस्था र आवश्यकता अनुरुप गठबन्धन गर्ने’ भन्दै निर्णय गरेपछि अध्यक्ष दाहाल चिढिएका छन् ।

बिहीबार बसेको सत्ता गठबन्धनको बैठकमा दाहालले कांग्रेससँग चुनावी तालमेलको विश्वासिलो आधार र तालमेलमा ‘सम्मानजनक हैसियत’को विषयलाई उठाएका छन्। उनले ‘बहुसंख्यक स्थानीय तहमा विजयी बन्ने बलियो आधार र परिस्थिति निर्माण भइसकेको’ भन्ने वाक्य प्रति कटाक्ष गर्दै ‘तपाईंहरुले जित त सुनिश्चित गरिसक्नुभएकै छ, अब त्यसमा के छलफल गराई भयो र ?’ भनेको एक नेताले जानकारी दिए ।

कांग्रेसले गठवन्धनलाई हल्का ढंगले लिएको भन्दै दाहालले जितको विश्वासिलो आधारका लागि एमालेतिर जाने र त्यसो भयो भने कांग्रेस अप्ठ्यारोमा पर्ने चेतावनी दिएका छन् । दाहालले एमाले र माओवादी केन्द्रका दोस्रो तहका नेताहरुबीच सम्वाद भइरहेको र कांग्रेस गम्भीर नभए एमालेतिर जानसक्ने चेतावनी दिए।

‘म एकदमै प्रेसरमा छु । मेरा साथीहरु राति १२ बजेसम्म पनि नेकपा एमालेका नेताहरुसँग मिटिङ गरिरहनुभएको छ। स्थानीय सरकारको गठबन्धन सही ढंगले गएन भने मैले नचाहँदा नचाहँदै पनि एमालेसँग गठबन्धन गर्नुपर्ने हुनसक्छ’ – दाहालको भनाई उध्रित गर्दै एक नेताले भने।

नेताहरुका अनुसार दाहालले देशभर चुनावी तालमेलको निर्णय शीर्ष तहबाटै होस् भन्ने चाहेका थिए । २०७४ सालको निर्वाचनमा विजयी भएको स्थानलाई सोही दलका उम्मेदवारलाई छोडिदिने र बाँकी भागवण्डा गर्ने उनको को प्रस्ताव छ ।

कांग्रेस सभापति देउवा पनि केन्द्रबाटै तालमेलबारे निर्णय गर्ने पक्षमा छन् । तर डा. शेखर कोइराला समूहले एक्लै लड्नुपर्ने दबाव दिएको छ भने तल्लो तहबाट तालमेलबारे केन्द्रबाट निर्णय नगर्न चर्को खबरदारी छ । त्यसैले दाहालको चेतावनीमा प्रधानमन्त्री शेरबहादुर देउवाले भने कुनै प्रतिउत्तर नदिएकोे नेताहरुको भनाई छ। 

यता, एमाले र माओवादी केन्द्रका दोस्रो तहका नेताहरु केही दिनअघि चीन भ्रमण गरेर फर्किएका थिए । एमाले उपाध्यक्ष विष्णु पौडेलसहितको टोली गत साता कुन्मिङ गएको थियो भने माओवादी नेताहरु वर्षमान पुन र देव गुरुङ पनि कुन्मिङ पुगेका थिए । दुबै दलका नेताहरु एकैपटक चीन भ्रमणमा जानु संयोग मात्रै नभएकाले पार्टी एकताका लागि चीन सक्रिय भएको कतिपयको बुझाइ छ ।

पुष्पकमल दाहाल एमाले कार्ड

विशेष