गभर्नर प्रकरणले माओवादीमा खैलावैला, वर्षमान र जनार्दन यसरी जुधे
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको निलम्वन प्रकरणले नेकपा माओवादी केन्द्रका नेताहरु वर्षमान पुन र अर्थमन्त्री जनार्दन शर्मा बीच तिक्तता सुरु भएको छ। अर्थमन्त्री शर्माको जोडबलमा अधिकारीलाई निलम्वन गरिएपछि पुनले त्यसको विपक्षमा प्रतिक्रिया दिएका कारण दुवैको सम्वन्धमा समस्या देखिएको हो।
पूर्वअर्थमन्त्री समेत रहेका नेता पुनले गभर्नरमाथिको कारबाही समय सान्दर्भिक नदेखिएको टिप्पणी गरेका थिए ‘गभर्नर निलम्बन प्रकरणको भित्री कुरा मलाई थाहा छैन । तर यस्तो बेला गभर्नर हटाउने विषय संवेदनशील नै हो, यसमा सरकारले गम्भीरतापूर्वक सोचेकै होला । यद्यपि यो निर्णय त्यति समय सान्दर्भिक देखिएको छैन,’ पुनको भनाइ थियो ।
पुनको यो भनाईपछि मन्त्री शर्मा आक्रोशित भएका छन् । उनले पूर्व अर्थमन्त्री एवं माओवादी केन्द्रका नेता वर्षमान पुनले नेकपा एमालेसँग तालमेलमा जान चाहेकाले गभर्नर निलम्बनको विरोध गरेको आरोप लगाएका छन् ।
एक टेलिभिजनमा अन्तर्वार्ता दिने क्रममा मन्त्री शर्माले भने, ‘वर्षमान पुन र म साथी–साथी हौं, सहयोद्धा हौं । उहाँसँग मेरो सम्बन्ध राम्रै छ । तर उहाँ एमालेसँग तालमेलमा जान चाहनुहुन्छ । हामी यही गठबन्धनलाई बलियो बनाउने पक्षमा छौं । यो कुरा उहाँलाई मन परेको छैन । त्यसैले गठबन्धनको विरोध गर्न गभर्नर निलम्बनमार्फत छिर्नुभएको हो।’
पुनले आफुलाई राजनीतिक फाईदा होलाकी भन्ने मनसायले यस्तो प्रतिक्रिया दिएको शर्माले वताए । ‘वर्षमानले त्यो कुरा व्यक्तिगत र पार्टीगत रुपमा भन्नुभएको छैन, पत्रिकामार्फत भन्नुभएको छ । यो उहाँको बुझाइको समस्या हो’ उनले भनेका छन्–‘उहाँले आफूलाई राजनीतिक फाइदा हुन्छ भनेर निलम्बनको आलोचना गर्नुभएको होला । तर उहाँलाई केही पनि फाइदा हुँदैन।’
माओवादीका दुबै नेता पार्टीको महासचिवका दावेदार हुन।
महाप्रसाद अधिकारी नेकपा माओवादी केन्द्र वर्षमान पुन जनार्दन शर्मा