News

रअ प्रमुख भेट्दा ओलीलाई राष्ट्रद्रोही भन्नेहरु लाईन लागेर लैनचौरमा !

रअ प्रमुख भेट्दा ओलीलाई राष्ट्रद्रोही भन्नेहरु लाईन लागेर लैनचौरमा !

०७७ कात्तिकको पहिलो साता तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय जासुसी संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलका विचमा प्रधानमन्त्री निवास वालुटारमा भेट भयो। 

उक्त भेटलाई तत्कालिन नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल, पार्टीका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, झलनाथ खनाल, नेता भीम रावललगायत नेपाली कांग्रेसका नेतासम्मले गम्भीर आपत्ति जनाए। 


    
धेरैले प्रधानमन्त्रीले कूटनीतिक आचारसंहिता पालना नगरेको टिप्पणी गरे। उनीहरुले अहिलेसम्म पनि गोयललाई भेटेको विषयमा ओलीलाई राष्ट्रघात गरेको भन्न छोडेका छैनन्। तर, ओलीको आलोचना गर्ने तिनै नेताहरु कतिसम्म निर्लज्ज छन् भन्ने कुरा राजदुतलाई विदाई गर्न दुतावासै पुगेको घट्नाले स्पष्ट पारेको छ।

ओलीलाई गाली गर्ने प्रधानमन्त्री शेरबहादुर देउवासहितको जम्बो टोली भारतीय राजदुत विनयमोहन क्वात्रालाई विदाई गर्न भारतीय दूतावास लौनचौरमै पुगेका छन्। त्यहाँ प्रधानमन्त्री देउवासहित ओलीलाई राष्ट्रघाती भन्ने पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायत सवै सहभागी थिए ।

रअ प्रमुखलाई भेट्दा कुटनीतिक मर्यादाको कुरा गर्ने उनीहरु कुन मुखले अहिले राजदुतलाई विदाई गर्न दुतावास पुगे भन्ने विषयमा अहिले सर्वत्र चर्चाको विषय भएको छ। परराष्ट्रविद्हरूले पनि भारतीय राजदूतको बिदाइ कार्यक्रममा प्रधानमन्त्री सहित राज्यका उच्च पदस्थ कर्मचारी विदेशी दूतावासमा जानु कूटनीतिक मर्यादा विपरीत भएको टिप्पणी गर्न थालेका छन् ।

दूतावासमा प्रधानमन्त्री सहितका पदाधिकारी सहभागी भएको तस्बिरहरू समेत यतिबेला सामाजिक सञ्जालमा छ्यापछ्याप्ती भएका छन् । ती तस्बिरका साथ सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले कूटनीतिक मूल्य मान्यताको अवमूल्यन गरेको भन्दै विभिन्न प्रकारका टिप्पणी जनाएका छन् । 

प्रधानमन्त्री देउवा सहित सिङ्गो मन्त्रीपरिषद्का सदस्य नै राजदूतको बिदाईका लागि दूतावास गएको देखेर आफू आश्चर्य चकित भएको एक उच्च अधिकारीले टिप्पणी गरे । ‘प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्व प्रधानमन्त्री प्रचण्ड, माधव कुमार नेपाल र सिङ्गो मन्त्रीमण्डल लाइन लागेर जान्छन् भन्ने मलाई लागेको थिएन’ उनी भन्छन्–‘उहाँहरूलाई सबैलाई त्यहाँ देखेपछि त म चकित परेँ । उहाँहरू आउनुहुन्छ होला भनेर मैले त कल्पना नै गरेको थिइन् ।’

उनले अन्य दूतावासबाट पनि त्यसरी राजदूत बिदा हुन लागे भने प्रधानमन्त्री सहित पुरै मन्त्रीपरिषद् बिदाईका लागि जान्छन् कि जाँदैनन् भन्ने प्रश्न उठेको बताए ।

विनयमोहन क्वात्रा भारतीय राजदुत

विशेष