News राजनीति

चुनावको मुखमा माओवादी वीरगन्जका अध्यक्ष रहबर अन्सारी पार्टीबाट निस्कासित

चुनावको मुखमा माओवादी वीरगन्जका अध्यक्ष रहबर अन्सारी पार्टीबाट निस्कासित

नेकपा (माओवादी केन्द्र) वीरगन्जका अध्यक्ष रहबर अन्सारीसहित तीन जनालई पार्टीले कारवाही गरेको छ। स्थानीय चुनावमा धक्का पार्ने काम गरेको भन्दै अध्यक्ष अन्सारी, उपाध्यक्ष अनुरुद्र यादव र जुम्मादिन अन्सारीलाई कारवाही गरिएको हो।

उनीहरुलाई साधारण सदस्य समेत नरहने गरी कारवाही गरिएको माओवादी जिल्ला समिति पर्साले जनाएको छ। स्थानीय निर्वाचन नजिकिदै गर्दा २०७४ को चुनावमा वीरगन्ज महानगरबाट मेयरमा उठेका अन्सारीलाई माओवादीले पार्टीबाट निकालेको हो।

माओवादी जिल्ला इन्चार्ज विजय महतो र संयोजक रामदशरथ कुशवाहाद्वारा जारी विज्ञप्तीमा उनीहरुमाथि पार्टी कार्यालयमा तोडफोड गरेको र नेतृत्वलाई गालीगलौज गरेको आरोप छ। 

‘देशी विदेशी प्रतिक्रियावादीहरूको इसारामा पार्टीलाइनै बदनाम गराउने कार्य निन्दनीय छ,’ विज्ञप्तिमा भनिएको छ, ‘स्थानीय चुनावमा समेत धक्का पार्ने कार्य, अनुशासनहीन, गुण्डागर्दी, अराजक गतिविधि गर्ने गराउने तीन जनालाई आजकै मितिबाट साधारण सदस्य समेत नरहनेगरी पार्टीबाट निष्कासन गरिएको छ।’

अन्सारीले भने जिल्ला समन्वय समितिले आफूहरूलाई कारबाही गर्न नसक्ने बताएका छन्। बुधबार पार्टीको नाममा अनावश्यक चन्दा उठाएको भन्दै कार्यकर्ताले कुशवाह र अमिताभ वचन दासमाथि हातपात गरेका थिए। त्यस्तै कार्यकर्ताले वीरगञ्जको राधेमाईस्थित आफ्नै कार्यालयमा  तोडफोड गरेका थिए ।

पार्टीको जिल्ला नेतृत्वको गतिविधिलाई लिएर असन्तुष्ट बनेका अखिल क्रान्तिकारी मधेस प्रदेश प्रमुख सचिव जुवेर आलम, पार्टीको वीरगञ्ज महानगर उपाध्यक्षद्वय अनीरुद्ध यादव र जुमादीन अन्सारी, वडा कमिटी अध्यक्ष हिरा अन्सारी, छोटेलाल कुर्मीलगायतले कार्यालयमा तोडफोड गरेको आरोप छ ।
आसन्न स्थानीय तहको निर्वाचनका लागि पार्टीले गठन गरेको जिल्ला समन्वय समितिको गतिविधिप्रति असन्तुष्टी जनाउँदै ध्यानाकर्षण पत्र बुझाउन जाँदा विवाद भएपछि उनीहरु तोडफोडमा उत्रिएका थिए । तोडफोडपछि उनीहरुले पार्टी कार्यालयमा तालाबन्दी पनि गरे।

अन्सारीले उक्त घटनामा आफ्नो संलग्नता नरहेको दावी गरेका छन्। 

विशेष