News

माओवादीमा प्रचण्डको भन्दा कुलमान घिसिङको क्रेज

माओवादीमा प्रचण्डको भन्दा कुलमान घिसिङको क्रेज

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको आधिकारिक फेसबुक पेजबाट बुधवार स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै माओवादीको चुनावी पोस्टर सार्वजनिक भयो। 

सार्वजनिक गरिएको डिजिटल पोस्टरमा दाहाल, अर्थमन्त्रीसमेत रहेका नेता जनार्दन शर्मा र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको तस्बिर राखिएको थियो । डिजिटल पोस्टरमा ‘अँध्यारोबाट उज्यालोतर्फको यात्रा’, ‘लोडसेडिङ अन्त्य एउटा फड्को, अब पालो निःशुल्क बिजुलीको’ लेखिएको थियो ।

त्यो पोस्टर सार्वजनिक भएपछि देशभर त्यसको आलोचना भयो। निर्वाचन आचारसंहितामा सरकारी कर्मचारीले कुनै पनि राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन रोक लगाइएकाले पनि त्यसको आलोचना हुन स्वभाविक थियो।

घिसिङले पनि उक्त पोष्टरका वारेमा आफुलाई जानकारी नभएको र जानकारी पाएपछि हटाउन लगाएको प्रतिक्रिया दिए। चर्को आलोचना र घिसिङको आपत्तिपछि उक्त प्रचार सामग्रीमा राखिएको घिसिङको फोटो त हटाईयो, तर माओवादी र अध्यक्ष दाहाल प्रतिको आलोचना भने रोकिएको छैन।

पोष्टरलाई लिएर आलोचना मात्र होईन, आम नागरिकमा एक खालाको कौतुहलता समेत उत्पन्न भएको छ। ‘के माओवादी अध्यक्ष दाहालको क्रेज सकिएकैले घिसिङको फोटो प्रयोग गरिएको हो?’ भन्ने जिज्ञासा माओवादीकै नेता÷कार्यकर्ताले समेत ब्यक्त गरिरहेका छन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र उनको पार्टीका नेताहरुले भारतबाट बिजुली खरिद गरी लोडेडिङ हटाएको दावी गर्दै आएका छन्। तर, माओवादीले सम्पुर्ण जस तत्कालिन उर्जा मन्त्री जनार्दन शर्मा र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई दिदै आएको छ। तर, माओवादीको नीति अनुसार नै लोडसेडिङ अन्त्य भएको भएपनि एउटा कर्मचारीलाई आफनो हाराहारीमा राखेर दाहालले किन प्रचार सामग्री वनाए भन्ने प्रश्नले राजनीतिक वृत्तमा चर्चा पाएको छ।

के माओवादी र पार्टीका नेताहरुको आफनो कुरा विक्न छोडेकैले माओवादी अध्यक्ष दाहालले कुलमानलाई उपयोग गरेका हुन त ? यो प्रश्नको जवाफ त माओवादी र तीनका नेताहरुले नै देलान।
 

पुष्पकमल दाहाल कुलमान घिसिङ चुनावी पोस्टर

विशेष