News राजनीति

‘प्रचण्डले पार्टी खाने भयो’ भन्ने लागेपछि षडयन्त्रपूर्वक नेकपा विभाजः दाहाल

‘प्रचण्डले पार्टी खाने भयो’ भन्ने लागेपछि षडयन्त्रपूर्वक नेकपा विभाजः दाहाल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेकपा छँदा एमाले तर्फका पनि अधिकांश नेताहरु ‘अबको हाम्रो  नेतृत्व प्रचण्ड नै हो भन्नेमा पुगेपछि षड्यन्त्र सुरु भएको’ दावी गरेका छन् । काठमाडौंमा बिहीबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले यस्तो वताएका हुन।

एमालेसँग एकता गरेर नेकपा बनाएपछि माओवादीमा विभाजन नआएको भए आफूहरुको हैसियत त्यहाँ ६० प्रतिशत हुने पनि दाहालले बताए। ‘हामीले एकता गर्दा माओवादी नफुटेको भए सायद हाम्रो ६० प्रतिशत र एमालेको ४० प्रतिशत हुँदा पार्टी पनि हाम्रै हुन्थ्यो, नेकपा पनि फुट्दैनथ्यो’ उनले भने–‘एमाले नेताहरुले अहिले भन्ने गर्छन् नि, केही समय रोकेको भए त प्रचण्डले पार्टी खाइसक्थ्यो।’ 

यदि त्यसो भएको भए साँच्चिकै समाजवादी क्रान्तिमा जान सहज हुने पनि उनले बताए। उनले एमाले अध्यक्ष केपी शर्मा ओलीतिर लक्षित गर्दै त्यहाँका प्रतिक्रान्तिकारी र प्रतिगामीहरुसँग पनि वैचारिक संघर्ष जारी रहने बताए। ‘माओवादीमा एकता र ध्रुवीकरण चलिरहन्छ। यो एकता र ध्रुवीकरणले शक्ति पैदा हुन्छ’, उनले भने–‘प्रमाणित भएको कुरालाई भन्न हिचकिच्याउनु पर्दैन।’

आफूहरु समाजवादी क्रान्तिको यात्रामा रहेको कुरालाई जोड दिदै दाहालले घण्टी मात्रै वजाएर क्रान्ति नहुने बताए। ‘हामी समाजवादी क्रान्तिमा छौँ । लेनिनले भने जस्तो एकता, क्रान्ति, विभाजन हुँदै समाजवादमा पुगिने हो’, उनले भने–‘घण्टी मात्रै बजाएर क्रान्ति हुँदैन, बाङ्गोटिङ्ग बाटो नै हिड्नु पर्छ।’
 

विशेष