News

गगन थापा भन्छन्– गठबन्धनको वहसले स्थानीय मुद्दा ओझेलमा परे

गगन थापा भन्छन्– गठबन्धनको वहसले स्थानीय मुद्दा ओझेलमा परे

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले दलहरूबीचको गठबन्धनको वहसले ‘स्थानीय मुद्दा र गतिविधि’ ओझेलमा परेको बताएका छन् । तालमेल संस्कृतिले नेपालको लोकतन्त्रलाई कमजोर बनाउने बताएका उनले यो कसैका लागि पनि हितकर नहुने दावी गरे।

नयाँ वर्षको अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा सम्बोधन गर्दै उनले भने–‘अहिले हामी स्थानीय चुनावमा होमिएका छौँ । जनता बलियो हुने, राजनीतिक दल कमजोर हुने बेला हो । त्यसैले यो लोकतन्त्रको सबैभन्दा महत्वपूर्ण चरण हो।’ 

उनले राजनीतिक व्यवस्थामा दलहरुबीचमा गठबन्धन नै नहुने भन्ने नभएपनि अहिले प्रचलमा रहेको तालमेलको राजनीतिक संस्कृति नेपालको लोकतन्त्रको स्वास्थ्यलाई राम्रो नगर्ने बताए। ‘यसले हाम्रो पार्टीलाई मात्रै होइन, कसैलाई पनि राम्रो गर्दैन’– उनले भने।

चुनावमा कसले धेरै दलसँग गठबन्धन गर्नेभन्दा बढी विचारको प्रतिस्पर्धा हुनु आवश्यक रहेको उनको भनाई छ। ‘स्थानीय निर्वाचनमा हामीले आफ्नो बारेमा चर्चा गर्नुपर्ने हो । हाम्रो ठाउँ कसरी राम्रो बनाउने भनेर चर्चा, छलफल र बहस गर्नुपर्ने हो, विचारको प्रतिस्पर्धा हुनुपर्ने हो,’ उनले भने, ‘तर अनौठो र अमिलो महसुस भइरहेको छ कि स्थानीय चुनावमा गाउँठाउँका मुद्दाहरु भन्दा पनि गठबन्धनको विषयले चर्चा पाएको छ ।’

महामन्त्री थापाले चुनावी तालमेलकै सन्दर्भमा संयन्त्रले गरेको सर्कुलरको गलत बुझाइ भएकोसमेत बताएका छन् । उनले स्थानीयस्तरमा राजनीतिक दलहरूबीच कुरा मिले मात्रै स्थानीय तह निर्वाचनमा तालमेल हुने बताए । त्यसैले अवस्था हेरेर तालमेल गर्ने भनी निर्णय गरिएको उनको भनाइ छ ।

तल्लो कमिटीमा दलहरूबीच कुरा नमिले केन्द्रबाट हस्तक्षेप नहुने उनको भनाई छ। महामन्त्री थापाले जिल्लाका कार्यकर्ताले तालमेल गर्दैनौं भन्दा हस्तक्षेप गर्न नुहुने र उनीहरूको कुरालाई सम्मान गर्नुपर्ने बताए । स्थानीय कमिटीले नै कोसँग मिल्ने वा नमिल्ने भन्ने निर्णय गर्न पाउनुपर्ने उनको भनाइ छ ।
 

गगन थापा

विशेष