News

लागु औषधले धुत भएपछि रुखमा बाँधेर यसरी छप्काईयो अर्जुनको टाउको !

लागु औषधले धुत भएपछि रुखमा बाँधेर यसरी छप्काईयो अर्जुनको टाउको !

कैलालीको जानकी गाउँपालिका–९ को अमरावती बनमा गत पुस ३ गते भएको अर्जुन दासको हत्याको गुत्थी प्रहरीले ४ महिनापछि सुल्झाएको छ। अर्जुनको हत्या मोवाईलका कारणले भएको र उनलाई रुखमा बाँधेर खुकरीले घाँटी छप्काएर मारिएको प्रहरी अपराध महाशाखाले जनाएको छ।

दासको हत्या गरी भारत भागेका ४ जनालाई पक्राउ गरेसँगै हत्याको कारण खुलेको हो। प्रहरीले जानकी गाउँपालिका ९ का १९ वर्षीय सुमित साउद, १९ वर्षीय बमे भन्ने बमबहादुर बोहरा, १९ वर्षीय रोनी परियार भन्ने दीलिप दास र १९ वर्षकै मनोज भण्डारीलाई हत्या आरोपमा पक्राउ गरेको हो। अन्य ६ जना फरार छन्।

कमल साउदको मोबाइल अर्जुन दासले चोरी गरेको तर चोरको आरोपमा सुमित साउदलाई कुटपिट गरेपछि त्यसकै बदला लिन अर्जुन दासको हत्या भएको आरोपितहरुले बयान दिएका छन्। सुरुमा उनको हत्या गर्ने मनसाय नभएपनि गाँजाको नसामा धुत भएपछि मार्ने योजना वनेको उनीहरुको भनाई छ।

घटना हुनुभन्दा तीन दिन पहिले कमल साउदको मोबाइल हराएको थियो। गाउँकै एक महिलालाई बलात्कार गर्दैगर्दा फेला परेपछि उनी नाङ्गै भागे। उनले सुमितलाई फोन गरेर कपडा मगाए अनि त्यो रात उनीहरु कमकै घरमा वसे। 

त्यसै रात कमलको मोबाइल हरायो। मोबाइल चोरेको आरोपमा कमलले सुमितलाई कुटपिट गरे। तर, उनको मोवाई अर्जुन दासले चोरेको पछि पत्ता लाग्यो। अजुर्न कमलको घरमा इट्टा बनाउने काम गर्थे, उनले कमललाई मोबाइल फिर्ता पनि गरे।  

केही समयपहिले मात्रै भारतबाट फर्किएका समुहका नाईके मनोज भण्डारीले मोवाईल चोर्ने एउटा कुटाई खाने अर्को भन्ने थाहा पाएपछि अर्जुनलाई कुट्ने सल्लाह भयो। भण्डारी पढ्नका लागि काठमाडौं जाने तयारीमा थिए । उनीहरु मध्ये कमल साउद लागूऔषधको कारोबार गर्थे। अन्य सवै मिलेर कमलसँग भएको २५ हजार मूल्यबराबरको लागूऔषध नाइट्रोभेट उनीहरुले चोरेर लगेर जंगलमा लुकाए। उनीहरुको लागूऔषध खाने अखडा त्यही जंगल थियो। 

पुस २ गते बेलुका ६ बजेतिर अर्जुन दासलाई बोलाएर उनीहरु लागूऔषध सेवन गर्न जंगलतर्फ लागे। जंगलमा पुगेपछि सुरुमा सबैले लागूऔषध सेवन गरे। लागूऔषध खाँदै गर्दा उनीहरुको बीचमा मोबाइल चोरीको विषय उठ्यो। 

अर्जुनमाथि कुटपिट भयो। हात पछाडि बाँधेर रुखमा बाँधे। उनीहरु भने थप लागूऔषध खाइरहेका थिए। अर्जुनलाई रुखमा बाँधेको करिब ५ घण्टा भइसकेको थियो। लागु औषधले धुत भएपछि मनोजले अर्जुनलाई सिद्याउने कुरा निकाले। सवैको सहमति वन्यो।

सुनिल मयाल भन्नेलेलाई खुकुरी लिन पठाए। उनी खुकुरी ल्याएर घर फर्किए। राति ११ बजे मनोज भण्डारीले सुरुमा अर्जुनमाथि ७/८ पटक खुकुरी हाने। त्यसपछि अरु दुई जनाले पनि थपे। अर्जुनको टाउको छुट्टियो। 

त्यसपछि पनि उनीहरु लागूऔषध खाँदै रातभर जंगलमै बसे। दुई जना जागै बसे, बाँकी त्यहीँ सुते। बिहान लागुऔषधको नशाले छाड्दै गएपछि उनीहरुको सल्लाह भयो, अब के गर्ने ? मनोज भण्डारीसँग काठमाण्डौं जानका लागि राखेको ६÷७ हजार भारु थियो। उनीहरु मध्ये केही त्यही पैसा बोकेर भारत भागे। कोही कैलालीमै बसे। 

हत्यामा संलग्नमध्ये मनोज भण्डारी, बादल विक, दीलिप दास, बमबहादुर बोहरा, सुमित साउद र विवेक सिंह दिल्लीतर्फ लागे। कनकलाल विक, करण दर्नाल, सुशील मयाल र उनको साथी कैलालीमै लुकिछिपी बसे। 

भारत पुगेपछि उनीहरुले कमललाई पठाएको अडियो सार्वजनिक भयो। अडियोमा अर्जुनलाई हामीले नै मारेका हौ भनीएको थियो। तर उनीहरु भारततर्फ भागेकाले पक्राउ गर्न समय लाग्यो।

महाशाखाले एउटा टोली भारत पठाएरै उनीहरुलाई पक्राउ गरी ल्याएको हो। अरु ६ जना भने अझै फरार छन्। कमल साउद त्यतिबेलै भएको बलात्कार अभियोगमा कारागार छन्। 
 

विशेष