News राजनीति

ललितपुर महानगरको मेयरमा कांग्रेसका सात जनाको दाबी

ललितपुर महानगरको मेयरमा कांग्रेसका सात जनाको दाबी

ललितपुर महानगरपालिकाको मेयरका लागि नेपाली कांग्रेसले सात जनाको नाम सिफारिस गरेको छ। नगर सभापति शुभानन धाख्वाले मेयरका लागि सात जनाको नाम सिफारिस गरेर प्रदेशमा पठाइएको बताए।

कांग्रेस ललितपुर महानगर कार्यसमितिले सभापति शुभानन, महाधिवेशन प्रतिनिधि भरतलाल न्याछ्ओ र प्रेमकृष्ण महर्जन, अहिलेका मेयर चिरीबाबु महर्जन, अहिलेको उपमेयर गीता सत्याल, महानगरका पूर्वसभापति राजेश महर्जन र महाधिवेशन प्रतिनिधि अनन्तप्रकाश श्रेष्ठको नाम सिफारिस गरेको हो।

अब प्रदेशले नाम केन्द्रमा पठाउनेछ। कांग्रेस विधानअनुसार महानगरको उम्मेदवार केन्द्रीय संसदीय समितिले तय गर्ने व्यवस्था छ। ललितपुर महानगरमा चिरीबाबुले फेरि एक कार्यकाल दोहो¥याउने इच्छा देखाएका छन्। चिरिबावु र सभापति धाख्या सभापति शेरबहादुर देउवानिकट हुन्।

धाख्या यसपालि मेयर आफूले पाउनुपर्ने दाबी गर्दै आएका छन्। प्रेमकृष्ण यसअघि चुनावमा ललितपुर क्षेत्र नम्बर २ को प्रदेश सभामा उठेर पराजित भएका थिए। उनी ०५४ को चुनावमा पनि ललितपुरमा उपमेयरमा पराजित भएका थिए। उनी लामो समयदेखि कांग्रेसको राजनीतिमा सक्रिय छन्।

भरतलालले ०७४ मा पनि मेयरका लागि दाबी गरेका थिए। लामो समय नगर सभापति भएर काम गरेकोले जनमानसमा आफू भिजेको र पुरानो नेता भएकोले पनि यसपालि टिकट पाउनुपर्ने उनको दाबी छ।

ललितपुर नगर समितिले उपमेयरका लागि भने नाम सिफारिस गरेको छैन। केही दिनमा उपमेयरका लागि नाम सिफारिस गरिने सभापति धाख्वाले बताए।
 

विशेष