News

आम्दानीका लागि झुम्का कारागारमा चौकिदार बन्न मारामार, ६ जना घाईते

आम्दानीका लागि झुम्का कारागारमा चौकिदार बन्न मारामार, ६ जना घाईते

सुनसरीको झुम्का कारागारमा चौकीदार बन्ने विषयमा झडप हुँदा ६ जना कैदिवन्दी घाइते भएका छन्। कारागारको ‘ए’ ब्लकका बुधवार कैदीबन्दीबीच झडप भएको हो।

कारागार व्यवस्थापन विभागले ‘ए’ ब्लकका चौकीदार जोन नाल्बो लिम्बुलाई भीमफेदी कारागार सरूवा गरेपछि लिम्बुको ठाउँमा चौकीदार बन्ने विषयमा कैदीबन्दीबीच विवाद चर्किएको थियो। विवाद बढ्दै गएपछि झडप हुँदा ६ जना घाइते भएको जेलर प्रदीप साहले बताए।

घाईतेहरुको जिल्ला अस्पताल इनरुवामा उपचार भइरहेको छ। कारागार व्यवस्थापन विभागले ‘ए’ ब्लकका लिम्बुसहित ६ जनालाई भीमफेदी कारागारमा र ‘बी’ ब्लकका चौकीदार खड्गबहादुर राईसहित ६ जनालाई डिल्लीबजार सरूवा गरेको थियो।

‘बी’ ब्लकका चौकीदार राईसहित ६ जना डिल्लीबजार स्थानान्तरण भइसकेका छन्। ‘ए’ ब्लकका लिम्बु भीमफेदी पुगे पनि अन्य पाँच जना भने झुम्कामै छन्। उनीहरूलाई भीमफेदी पठाउने तयारी छ।

‘बी’ ब्लकमा केही समस्या आएन, ए ब्लकमा भने नयाँ चौकीदार को बन्ने ? भन्ने विषयमा विवाद हुँदा झडप भएको साहले वताए । 

जेलमा चौकीदार बन्न किन मरिहत्ते ?
कारागार व्यवस्थापन विभागका अनुसार जेलमा कानुनसम्मत रूपमै चौकीदार चयन हुन्छन् । चौकीदारको पछिपछि विभिन्न तहमा ‘नाइके’ र भाइ नाइकेहरू हुन्छन् । कैदीहरूको व्यवस्थापन, औषधी–उपचार, खाद्यान्न आपूर्ति लगायतमा चौकीदारको भूमिका हुन्छ । 

उसले जेलभित्र पसल चलाउने, मेस चलाउने, खाद्यान्न आपूर्ति गराउने जिम्मा पाउँछ । यसबाट निकै राम्रो आम्दानी हुने भएकाले चौकीदार बन्न जेलभित्रका अपराधीहरू सक्रिय रूपमा लाग्ने गर्छन् ।

त्यसबाहेक पनि चौकीदार दिनभरी बाहिर घुम्न र स्वतन्त्र पूर्वक हिँडडुल गर्न पाउँछन् । साँझसम्म कारागार प्रवेश गरिसक्नुपर्ने दिनभरि जहाँ पनि हिँड्न मिल्ने र दिनभर अरू पनि धन्दा चलाउन पाइने भएकोले पनि कारागारको चौकीदार बन्न मरिहत्ते गर्दछन् । 

चौकीदार चयनका लागि जेलभित्रका कैदीबन्दीबीच सहमति वा चुनावै पनि हुने गर्छ । त्यसरी जो चयन हुन्छ उसलाई चौकीदार बनाउन कारागार प्रशासनमा जानकारी गराईन्छ र प्रशासनले कारागार व्यवस्थापन विभागलाई जानकारी गराएर चौकीदार तोक्ने गरिएको छ। 
 

झुम्का कारागार

विशेष