News

झारफुकको वहानामा महिलाको हत्या, धामी र आफन्तसहित ७ जना पक्राउ

झारफुक गर्दा कुटपिट गरेको आशंका

झारफुकको वहानामा महिलाको हत्या, धामी र आफन्तसहित ७ जना पक्राउ

कञ्चनपुरमा एक महिलाको शंकास्पद मृत्युु भएपपछि प्रहरीले ७ जनालाई नियन्त्रणमा लिएको छ। वेदकोट नगरपालिका–७ को मुसेपानीकी ४३ वर्षीया रञ्चुला साउदको शंकास्पद मृत्यु भएपछि कुटपिट गरेर हत्या गरेको आशंकामा उनीहरु पक्राउ परेका हुन ।

नातेदार पर्ने स्थानीय कमला साउदको घरको आगनमा रञ्जुलाको शव फेला परेको प्रहरीले जनाएको छ। ‘सडेको अवस्थामा स्थानीय कमला साउदको घर आगनबाट मृतकको शव बरामद गरेका छौँ’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरकाडीएसपी चक्रबहादुर शाहले भने–‘घटना शंकास्पद भएकाले ७ जना मानिसलाई पक्राउ गरेर अनुसन्धान गरिरहेका छौँ ।’

पक्राउ पर्नेमा दुई जना धामी झाक्रीसहित ७ जना स्थानीय  छन् । कञ्चनपुरकै भीमदत्त नगरपालिका–७ बस्ने धामी धर्मानन्द भट्ट र भीमदत्त नगरपालिका–१ बस्ने नारायणदत्त भट्टले झारफुक गर्ने क्रममा रञ्जुलामाथि कुुटपिट गरेको हुन सक्ने आशंका छ। 

कुटपिटका कारण महिलाको मृत्यु भएको आशंकामा दुई जना धामी र अन्य स्थानीयलाई नियन्त्रणमा लिईएको प्रहरीको भनाइ छ । स्थानीयले पनि धामी झाँक्रीको कुटपिटबाट नै महिलाको मृत्यु भएको दाबी गरेका छन् ।

पक्राउ पर्नेमा रञ्जुलाका परिवारका सदस्यहरु समेत छन् । उनीहरुको नाम प्रहरीले सार्वजनिक गरेको छैन । महिलाको शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ । 

घटना स्थलमा पुगेका वेदकोट नगरपालिका–६ का वडाध्यक्ष कट्टेराम रानाले स्थानीयले धामी झाँक्रीले झारफुक गर्ने बेला कुुटपिट गर्दा साउदको मृत्युु भएको बताइरहेको जानकारी दिएका छन् ।
 

विशेष