News

गठवन्धनले भरतपुर कांग्रेसमा भाँडभैलो, ५० भन्दा वढिले दिए राजिनामा

गठवन्धनले भरतपुर कांग्रेसमा भाँडभैलो, ५० भन्दा वढिले दिए राजिनामा

स्थानीय तह निर्वाचन नजिकिदै गर्दा चितवनको भरतपुर महानगरपालिकामा कांग्रेसको असन्तुष्टि उत्कर्षमा पुगेको छ। माओवादीसँगको गठवन्धनका कारण असन्तुष्ट हुँदै आएका भरतपुरका कांग्रेसी कार्यकर्ताले धमाधम राजिनामा दिन थालेका छन् ।

पार्टीभित्र स्वार्थ केन्द्रित राजनीति हावी भएको भन्दै चितवन–१७ का ५० भन्दा वढि कार्यकर्ताले राजीनामा दिएका छन् । शनिबार एक कार्यक्रम अयोजना गरी वडा समितिका पूर्वसभापति विष्णुप्रसाद सुवेदी, पूर्व वडाध्यक्ष देवनारायण महतोसहित ५० जना क्रियाशील तथा साधारण सदस्यले राजीनामा दिएका हुन् ।

प्रकाश कँडेल, डिलाराम कँडेल, रामु सापकोटा, पुनाखर गैरे, रितनारायण श्रेष्ठ, कृष्णप्रसाद ढकाल, माधवप्रसाद सापकोटा, निर्मला गौतम, मीरा पोखरेल, बलराम कँडेल लगायतका नेता÷कार्यकर्तामा पनि राजिनामा दिनेमा परेका छन् ।

भरतपुर महानगरपालिकाको मेयर पद अर्को पार्टीलाई दिन लागिएको विरोधमा उनीहरुले पार्टी सदस्यबाट राजीनामाको घोषणा गरेको जनाएका छन्। गत बुधबारमात्रै महानगरका वडा सभापतिहरुले भरतपुर महानगरको मेयर पार्टीले नपाए २९ वटै वडामा वडाध्यक्ष र सदस्यका स्वतन्त्र उम्मेदवार खडा गर्ने घोषणा गरेका थिए। उनीहरूले उक्त निर्णय पार्टी सभापति राजेश्वर खनाललाई बुझाएका थिए। 

सत्तारूढ गठबन्धनभित्र भरतपुर महानगरको मेयर नेकपा माओवादी केन्द्रलाई दिने तयारी भएपछि चितवनका कांग्रेस कार्यकर्ता बिच्किएका छन्। जिल्ला नेताहरूले शीर्ष नेतालाई भेटेर भरतपुरको मेयर पद नछाड्न दबाब दिँदै आएका छन्। 

यसैगरी उनीहरुले जनताका आधारभूत आवश्यकतामा मौन रहेने स्वार्थ केन्द्रित राजनीतिक दुष्चक्रबाट आजित भएर राजिनामा दिनु परेको विज्ञप्तिमा उल्लेख गरेका छन्। वडाको विकासमा जनसहभागिताको रकम दुरूपयोग गरिएको, जनप्रतिनिधि कमिसनमा रमाएको,  कृषकका समस्याहरूलाई बेवास्ता गरिएको र सडक निर्माण अलपत्र पारिएको विज्ञप्तिमा जनाइएको छ ।

वडा समितिका पूर्व सभापति विष्णुप्रसाद सुवेदीले जनता भन्दा माथि व्यक्तिमुखी राजनीति चलेकोले आफूहरु आजित भएको र पार्टी परित्याग गरी स्वतन्त्र नागरिक मञ्च गठन गरिएको बताए । उनीहरुले जारी गरेको विज्ञप्तिमा अमेरिकी सहयोग परियोजना एमसीसी पारित गरेकामा पनि असन्तुष्टि जनाईएको छ।

विशेष