News

खुमलटारमा प्रचण्डको व्रिफिङः नेकपा एस र जसपाले डोको जत्रो मुख बाए !

खुमलटारमा प्रचण्डको व्रिफिङः नेकपा एस र जसपाले डोको जत्रो मुख बाए !

नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले शनिवार काठमाण्डौंमा आयोजित एक कार्यक्रममा ‘स्थानीय चुनावसम्म पनि सत्तारुढ गठबन्धनका दलहरु एकतावद्ध हुन नसक्न’ भन्दै घोषणा गरिदिए।

गठबन्धन दलकै नेता जस्तो र सवै कुरा वुझे झै गरी उनले गठवन्धनमा भित्रभित्रै पहिरो जाने अवस्था भएपछि निर्वाचनबाट पराजित हुने डरले सत्तारुढ दलहरु आफैं अत्तालिएको तर्क गरे । गठबन्धनका लागि नेपालगञ्जमा जसपाले नमानेको, पर्साका कांग्रेसहरु आफैं असहमत रहेको, रोल्पामा हुँदैन भनेर वक्तव्य आउनै लागेको भन्दै उनले सबै तहको निर्वाचनमा आफ्नो पार्टीले राजनीतिक, नैतिक तथा गणितीय रुपमा पनि जित हासिल गर्ने निश्चित भएको दावी गरे।

ज्ञवालीले त भन्ने नै भए। एमाले अहिले पनि कमजोर नरहेको र गठवन्धनलाई टक्कर दिन सक्छ भनेर मनोवैज्ञानिक दवाव श्रृजना गर्न पनि उनले गठवन्धनलाई कमजोर सावित गर्न खोज्नु अनौठो होईन। तर, गठवन्धन दलकै नेताहरुको कुरा सुन्दा भने ज्ञवालीको भविष्यवाणी वास्तविक हुन सक्ने आशंका गर्न थालिएको छ।

खुमलटारमा शुक्रबार मात्रै बसेको नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालयको बैठकमा अध्यक्ष पुष्पकमल दाहालले गठबन्धनमा समस्या देखिएको बताएका थिए। श्रोतका अनुसार खास गरी एकीकृत समाजवादी र जनता समाजवादीले डोको जत्रो मुख वाएको र आफ्नो हैसियतभन्दा धेरै भाग खोज्न थालेको जानकारी दिएका थिए। उनले अब कांग्रेससँग पनि प्रतिस्पर्धा हुन सक्ने उल्लेख गरे। खास गरी कांग्रेस र माओवादीकै बलमा यहाँसम्म ल्याएको एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफू एमालेमै रहेको जस्तो गरेर भाग खोज्दा गठबन्धनमा गाह्रो भएको दाहालको टिप्पणी थियो।

स्रोतका अनुसार दाहालले गठबन्धनको धेरै भर पर्न नहुने निष्कर्ष सुनाउँदै आफ्नै बलमा चुनावी तयारी थाल्नेतर्फ पनि नेताहरुको ध्यानाकर्षण गराएका थिए ।

दाहालले वैठकमा गरेको व्रिफिङलाई शनिवार एकिकृत समाजवादी पार्टीका अध्यक्ष नेपालले पुष्टि परे। उनले आफ्नो शक्तिलाई अपमानपूर्ण व्यवहार गर्न थालिएको भन्दै त्यसरी अवमूल्यन नगर्न चेतावनी दिए। 

शनिबार काठमाडौंमा भएको पार्टी प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आफ्नो पार्टीबारे केहीलाई अझै भ्रम रहेको पनि बताए । अध्यक्ष नेपालले कसले अवमूल्यन र अपमान गर्यो भनेर किटान गरेनन्, तर उनको भनाई गठबन्धनका नेताप्रति लक्षित थियो । अध्यक्ष नेपालले आफ्नो शक्ति निर्णायक शक्तिका रुपमा रहेको दावी पनि गरे ।

यता, दाहालको व्रिफिङलाई नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले पनि पुष्टि गरे। उनले शनिवारै पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित केन्द्रीय कार्य सम्पादन समितिको वैठकका क्रममा स्थानीय तहको निर्वाचनमा सत्तारुढ दलहरुबीच नै प्रतिस्पर्धा हुन सक्ने बताए।

एमालेले चुनाव हार्ने तर सत्तारुढ गठबन्धन दलहरुबीच भने आफैंले चुनाव जित्छु भन्ने लागेमा त्यहाँ फ्रेन्डली प्रतिस्पर्धा हुने प्रवक्ता महतको भनाइ छ ।

कुनै ठाउँमा गठबन्धन दलहरुबीचमै आ–आफ्नो दाबी रह्यो भने त्यहाँ चुनावी प्रतिस्पर्धा हुने प्रवक्ता महतले बताए । ‘कुनै ठाउँमा समझदारी हुन सकेन । त्यहाँ सबैको आ–आफ्नो दाबी रहृयो । मेरै त्यहाँ ज्यादा शक्ति छ, मेरै जनाधार बढेको छ । हामीले नै जित्छौं भन्ने स्थिति आयो भने’ उनले भने–‘त्यस्तो धेरै ठाउँमा आउन पनि सक्छ । त्यस्तो ठाउँमा प्रतिस्पर्धा हुन पनि सक्छ।’

एकआपसमा जेलिएका नेताहरुका यी अभिब्यक्तिले गठवन्धनभित्र साँच्चै नै समस्या छ भन्ने देखिएको राजनीतिक विश्लेषकहरु वताउँछन् । ‘मुखले गठबन्धन भन्न जती सजिलो छ, व्यवहारिक रुपमा यसको प्रयोग उत्तीकै कठिन हुँदै गएको छ’ उनीहरु भन्छन्–‘केन्द्रमा गठबन्धनका शिर्ष नेताहरु बसेर सैद्धान्तिक निर्णय गरेका छन्। तर जिल्ला–जिल्लाका गठबन्धन आवद्ध दलहरुका विचमा भागवण्डामा कुरा मिलेको छैन।’

चितवनको भरतपुर महानगरपालिका यस पटक पनि माओवादी केन्द्रलाई दिन काग्रेस सभापती शेरबहादुर देउवा तयार भए पछि चितवनका स्थाानिय काग्रेस कार्यकर्ताहरु आक्रोसित छन्। शनिवार उनीहरुले सामुहिक राजिनामाको अभियान समेत सुरु गरेका छन् ।

मोरङ, कन्चनपुर, नेपालगञ्ज, कलैया, ललितपुर लगायतका जिल्ला र स्थानीय तहमा गठवन्धनको निर्णय कार्यान्वयन हुने अवस्था छैन। नेपालगञ्ज प्रकरणका कारण जसपाले अन्य चारवटा पालिकामा आफु खुशी उम्मेद्वारी घोषणा गरेको छ । यसरी हेर्दा गठवन्धन चुनाव अघि नै भत्किने अवस्था रहेको विश्लेषकहरु वताउँछन्। नेताहरुका पछिल्ला अभिब्यक्ति सकारात्मक दिशामा नरहेको उनीहरु वताउँछन्।

सत्तारुढ गठबन्धन

विशेष