News राजनीति

पोखरामा कांग्रेसको विद्रोह, गठवन्धन टुटेको घोषणा

पोखरामा कांग्रेसको विद्रोह, गठवन्धन टुटेको घोषणा

नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले सोमवार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरेर ६ महानगरपालिका मध्ये माओवादी केन्द्र, जसपा र नेकपा एसलाई एक/एक वटा दिएर भागवण्डा मिलाउने तयारी भईरहेको वताए । तर, कांग्रेसका नेताहरु भने यो कुरामा पनि सहमत भएका छैनन्।

सत्तारूढ गठबन्धनले आज बेलुकीसम्म महानगरको भागबन्डा मिलाउने तयारी गरेको छ। दाहालका अनुसार महानगर कहाँ कसले लिने भन्नेबारे करिब सहमति भइसकेको छ। उनको कुरामा सहमति वन्ने अवस्था आयो भने कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगर महानगर लिने सम्भावना छ।

माओवादीले भरतपुर महानगर दाबी गरेको छ। एकीकृत समाजवादीले पोखरा महानगर पाउनुपर्ने बताएको छ भने जसपाले वीरगञ्ज महानगर मागेको छ।

यता, पोखरा महानगरपालिकाको मेयर माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीको भागमा पर्ने देखिएपछि पोखरा महानगरपालिकामा कांग्रेसले गठबन्धन तोडेको छ। कांग्रेसका जिल्ला सचिवद्वय देवेन्द्र रानाभाट र भानुभक्त ढकालले सोमबार विज्ञप्ति जारी गरी समाजवादीसँग मित्रवत प्रतिस्पर्धा गर्ने घोषणा गरेका छन्। 

उनीहरुले पार्टीका मातहतका निकायहरुको राय सुझावलाई समेत मध्यनजर गरी गठबन्धनका अन्य दलसँग तालमेलका लागि वार्ता र सम्वाद अगाडि बढाउने घोषणा गरेका छन्। पोखरा महानगरको मेयरको टिकट कुनै हालतमा अरुलाई नदिने पक्षमा रहेको कांग्रेसले सत्ता साझेदार नेकपा एकीकृत समाजवादीसँग तालमेल टुटेको घोषणा गरेको हो।

एकीकृत समाजवादी कास्कीका अध्यक्ष धनराज आचार्यले केन्द्रमा गठबन्धनको बैठक बसिरहेको बताउँदै कुनै निर्णय नभएको उल्लेख गरेका छन्। केही दिनअघि समाजवादी अध्यक्ष माधवकुमार नेपालले पोखरामा आफ्नो पार्टीका आठ हजार सदस्य मात्रै रहेको र जनवर्गीय संगठनकासहित १२ हजार सदस्य पोखरामै रहेकाले सजिलै चुनाव जित्ने हिसाब सुनाएका थिए । उनले पोखराको मेयर कुनै हालतमा आफूले पाउनुपर्ने जिकिर गरेका थिए। 


 

पोखरा महानगरपालिका

विशेष