News

बालुवाटारमा ओथारो बसेको गठवन्धनले फुल पार्दैन: ओली

बालुवाटारमा ओथारो बसेको गठवन्धनले फुल पार्दैन: ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठवन्धन बालुवाटारमा ओथारो वसिरहेको तर, फुल पार्न नसक्ने टिप्पणी गरेका छन् । सोमबार सोलुखुम्बुमा आयोजित चुनावी सभालाई सम्वोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन ।

‘एमालेविरुद्ध बालुवाटारमा ओथारो बसिरहेका छन् रे, तर फुल पार्न सकेका छैनन् भन्ने सुन्छु’ भन्दै ओलीले प्रधानमन्त्रीनिवास बालुवाटारमा भागबण्डा मिलाउन बैठक वसिरहेका सत्तागठबन्धनका नेताहरुलाई ब्यंग्य गरे। 

एमालेसँग डराएर सत्तागठबन्धन चुनावबाट भाग्न खोजेको आरोप लगाउँदै उनले सबै दलसँग एमाले एक्लै भिड्न तयार रहेकोसमेत बताए । ‘अझै संविधानविरोधी केही तत्व चुनाव सार्न खोज्दैछन्’ उनले भने–‘एमाले तिनीहरुविरुद्ध एक्लै प्रतिकार गर्न तयार छ ।’

ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई स्थानीय निर्वाचन रोक्ने कोसिस नगर्न आग्रह समेत गरे। ‘मैले प्रधानमन्त्रीलाई पनि खबर पठाएको छु । चुनाव रोक्ने कोसिस नगर्नुस्’ ओलीले थपे–‘उहाँले बुझ्नुहुन्न हामी बुझाएर छोड्नेछौं । चुनाव हुनेछ । चुनाव टार्न कसैले सक्ने छैन । चुनाव हामी गराएर छाड्छौं ।’ 
 
उनले गठबन्धन आज पनि चुनाव सार्नेबारे छलफल गरिरहेको आरोप लगाए । ‘आज पनि अहिले पनि गठबन्धन चुनाव सार्न बालुवाटारमा मिटिङ बस्दै छ । म गठबन्धनालाई भन्न चाहन्छु, संविधान विरोधी अपराध धेरै भइसक्यो । अब सह्य हुन सक्दैन’– उनले भने ।

उक्त कार्यक्रममा सञ्चारउद्यमी आङकाजी शेर्पा एमालेमा प्रवेश गरेका छन् । शेर्पालाई अध्यक्ष ओलीले पार्टीमा स्वागत गरेका थिए ।
 

विशेष