News राजनीति

प्रचण्ड रणनीतिः कांग्रेसलाई गलाउने, साना दललाई तर्साउने

प्रचण्ड रणनीतिः कांग्रेसलाई गलाउने, साना दललाई तर्साउने

स्थानीय तह निर्वाचनका लागि महानगर र उपमहानगरपालिकाको नेतृत्व भागवण्डा मिलाउन लगातार वैठकमा वसेका नेताहरु सुस्केरा हाल्न थालेका छन् । सहमति गर्ने तर पाँच वटै दलले आ–आफनो अडान नछोड्ने भएपछि नेतृत्व भाग लगाउने विषय सकसपूर्ण हुँदै गएको छ।

शीर्ष नेताहरु पटक–पटक छलफलमा वस्दा पनि सहमति जुट्न सकेको छैन। निर्वाचन तयारी तथा अनुगमन संयन्त्रमा पनि यसबारे छलफल जारी छ। आजै बिहान पनि गठवन्धनको वैठक वसेको थियो, निष्कर्ष आएन।

यही मौका छोपेर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टी कार्यालय पेरिस डाँडामा पत्रकार सम्मेलन गरे। पत्रकार सम्मेलनमा उनले चुनाव नसर्ने, गठवन्धनमा सहमती जुट्ने, माओवादीलाई भरतपुर नै नचाहिनेलगायतका धेरै वटा विषयमा जानकारी दिए। खासमा उनीसँग जनतालाई दिने नयाँ कुरा थिएन। तर, उनले सहयात्री दललाई भने राम्रो सन्देश दिए।

उनले पत्रकार सम्मेलन गर्नुको आसय नेपाली कांग्रेसका नेताहरुलाई गलाउने तथा जसपा र नेकपा एसलाई थर्काउनेतर्फ केन्द्रीत रहेको देखिएको छ। माओवादी, जसपा, नेकपा एसले एक÷एक वटा महानगरपालिकाको नेतृत्व माग्दा पनि कांग्रेस दिन तयार नभएको र जसपा तथा नेकपा एस टसमस नभपछि ‘अव हामी गठवन्धन छोड्छौं र पाँच दल भित्रका पनि सहमति हुने दलसँग तालमेल गर्छौं’ भन्ने सन्देश प्रवाह गर्न उनले पत्रकार सम्मेलन गरेको अनुमान गर्न सकिन्छ।

ठिक समयमा ठिक अस्त्र प्रयोग गर्न माहिर खेलाडिका रुपमा चिनेन दाहालले यो पत्रकार सम्मेलनपछि कांग्रेस लचिलो हुने र डोको जत्रो मुख वाएका जसपा र नेकपा एस तर्सिने अनुमान लगाएको हुन सक्ने जानकारहरु वताउँछन्।

दाहालले यसैलाई गर्ने गरी गठबन्धन फुट्न सक्ने संकेत गरे। उनले भने–‘हामी निर्वाचनमा गठबन्धनबाटै जान्छौं। गठबन्धन भित्रैबाट भनेको चाँही ५ वटैको सहमति नहुन पनि सक्छ।’

उनले जहाँ जोसँग सहमति हुन्छ उसैसँग तालमेल गर्ने पनि वताए । ‘जहाँ जसको सहमति हुन्छ त्यो गठबन्धन भित्रबाटै गरेर निर्वाचनमा जाने हुन्छ’ उनले भने –‘गठबन्धनभित्र सबैबीच सहमति भएन भने जस–जसबीच सहमति हुन्छ, मिलेर अगाडि जान्छौं। त्यो स्थितिमा जित्ने सम्भावना माओवादी केन्द्रकै देख्छु मैले।’ 

उनले आफ्नो पार्टी एक्लै चुनावमा भिड्न पनि तयार रहेको बताए। उनले भने–‘कसैसँग भएन भने एक्लै भिड्ने तयारी त हामीले तीन महिनादेखि गरेकै छौँ नि। सहमति भएन भने त्यतिकै बस्ने कुरा त भएन। भिडेर जाने नै कुरा हुन्छ।’

पुष्पकमल दाहाल

विशेष