News

नवौं नेपाल–भारत एलओसी समीक्षा बैठक सम्पन्न

नवौं नेपाल–भारत एलओसी समीक्षा बैठक सम्पन्न

नवौं नेपाल–भारत एलओसी समीक्षा बैठक काठमाडौंमा सम्पन्न भएको छ । बैठकमा भारतीय टोलीको नेतृत्व भारतीय विदेश मन्त्रालयका सह–सचिव (विकास साझेदारी प्रशासन) श्रीधरण मधुसूधननले गरे । बैठकमा भारतीय दूतावास र एक्जिम बैंकका अधिकारीहरुको पनि सहभागीता थियो ।

त्यसैगरी नेपाली टोलीको नेतृत्व अर्थ मन्त्रालय अन्तर्राष्ट्रिय आर्थिक सहकार्य समन्वय महाशाखाका सह–सचिव ईश्वरी प्रसाद अर्यालले गरे । नेपाली टोलीमा भारतको एलओसी अन्तर्गतका परियोजनाको कार्यान्वयनमा संलग्न विभिन्न विभागका अधिकारीहरुको समेत सहभागीता थियो ।

बैठकमा भारत सरकारको ऋण सहयोगमा नेपालमा निर्माण भइरहेका परियोजनाहरुमा भएका प्रगतिका समीक्षा हुनुका साथै परियोजना कार्यान्वयनको थप सुनिश्चितता र एलओसी अन्तर्गका रकमको थप प्रभावकारी उपयोगबारे छलफल भएको नेपालस्थित भारतीय दूतावासले जनाएको छ ।

बैठकको अघिल्लो दिन चैत्र १४ गते मोदी–लेखनाथ विद्युत प्रसारण लाइन तथा सबस्टेसन परियोजना अन्तर्गत निर्माण भएका सबस्टेसनहरुको कास्की जिल्लाको लह चोकमा उद्घाटन भएको थियो । भारतको २५० मिलियन अमेरिकी डलर ऋण सहयोग रहेको यस परियोजना अन्तर्गत ४२ किमि लामो विद्युत प्रसारण लाइनको निर्माण भएको छ भने नयाँ मोदी, लह चोक र लेखनाथमा सबस्टेसनहरुको निर्माण भएका छन् । भारतको केपीटीएल लिमिटेड र एबीबीले यस परियोजनाको निर्माण गरिरहेका छन् ।

परियोजना अन्तर्गतको सबस्टेसन प्याकेजको निर्माण सम्पन्न भएको छ भने प्रसारण लाइनको निर्माण चाँडै सकिनेछ । बैठकको भोलिपल्ट चैत्र १६ गते एक्जिम बैंकले एक कार्यशालाको आयोजना पनि गरेको छ । कार्यशालामा सह–सचिव मधुसूधननको मन्तव्य पश्चात एलओसी परियोजनाका ठेकेदार र परियोजना कार्यान्वयनमा संलग्न विभिन्न विभागका अधिकारीहरुबीच छलफल भएको थियो । भारतको एलओसी नीति एवम् निर्देशिका र भारतीय विकास तथा आर्थिक सहयोग योजनाबारे नेपाली सरोकारवालालाई परिचित गराउने उद्देश्यका साथ सो कार्यशालाको आयोजना गरिएको हो ।

विशेष