News

गठबन्धनमा भुईचालोः भरतपुर बाहेकको नेतृत्व कांग्रेसले नछोड्ने !

गठबन्धनमा भुईचालोः भरतपुर बाहेकको नेतृत्व कांग्रेसले नछोड्ने !

स्थानीत निर्वाचनमा पालिकाका भागबण्डा गर्न सत्ता गठबन्धन दलका नेता सम्मिलित स्थानीय तह निर्वाचन तयारी, परिचालन तथा अनुगमन समितिको बैठक आज पनि वस्दैछ। बैठक बिहान नौ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाईएको छ।

आइतबार बसेको बैठकमा दलका नेताहरुले आ–आफ्नो दाबी नछोडेपछि थप अभ्यास गर्न आज वैठक वोलाईएको हो । आइतबारको बैठकमा नेकपा माओवादी केन्द्रले चितवनको भरतपुर, एकीकृत समाजवादीले पोखरा र जनता समाजवादी पार्टीले वीरगञ्ज महानगरपालिका लिने प्रस्ताव गरे। 

बैठकमा माओवादी केन्द्रका नेता वर्षमान पुनले भरतपुर तथा ११ उपमहानगरमध्ये जितपुर सिमरा, घोराही, धरान र हेटौंडाको नेतृत्व माओवादीले पाउनुपर्ने बताए थिए । एकीकृत समाजवादीले पोखरा महानगरपालिकाको नेतृत्व दाबी गर्यो। यसवाहेक इटहरी, हेटौंडा र बुटवल वा तुलसीपुरमध्ये एक उपमहानगरपालिकाको नेतृत्व र घोराही, जनकपुर र नेपालगञ्जको उपमेयर पनि आफ्नो दलले पाउनुपर्ने उक्त पार्टीको माग छ। महानगरपालिका नदिने भए चुनावी तालमेलबारे थप छलफल गर्न नसकिने नेताहरुले वताएका छन्।

जसपाले वीरगञ्ज महानगरपालिकामा दावी गर्दै मेयर विजय सराबगी एमालेमा प्रवेश गरेपछि नेता राजेशमान सिंह आफ्नो पार्टीमा आएकाले जसपा नै पहिलो दल भएको जनाएको छ। वीरगञ्जमा आफूलाई समर्थन नगरे विराटनगर कांग्रेसलाई छाड्न नसक्ने नेता राजेन्द्र श्रेष्ठले बताएका छन् । जनकपुर उपमहानगरको नेतृत्व पनि आफुले पाउनुपर्ने जसपा नेताहरुले बताएका छन् । 

राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले भने ६ महानगर र ११ उपमहानगरमध्ये कुनै एकमा आफ्नो दललाई उपमेयर दिनुपर्ने बताएकी छन् । अन्य दलको कुरा सुनेपछि कांग्रेसका नेताहरु भने भरतपुर महानगरपालिकाको नेतृत्व माओवादी केन्द्रलाई छोड्न सकारात्मक देखिएपछि अन्य ५ वटै महानगर र ११ उपमहानगरको नेतृत्व छाड्न सहज नभएको जनाएका छन्।

कांग्रेस सभापति एवं प्रधाननमन्त्री शेरबहादुर देउवा निकट केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले भरतपुर वाहेक अन्यत्रको हकमा थोरै मत भएको दलको पक्षमा धेरै मत खसाउन गाह्रो हुने बताए । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि पार्टीका नेता कार्यकर्तालाई गठबन्धन वृहत्तर उद्देश्यका लागि भनेर दबाव दिए पनि मतदाताको मनोविज्ञान भुल्न नहुने बताएका छन् । 

कांग्रेस र माओवादीले आआफनो हिसाले नेतृत्वको दावी गरेपछि एकीकृत समाजवादीका नेताहरुले भने आफूहरुले नेकपा एमालेबाट गरेको विद्रोहलाई कम आँकेको भन्दै गुनासो गरेका छन् । त्यसपछि माओवादी केन्द्रका नेता वर्षमान पुनले तालमेलमा सहजै सहमति जुट्ने सम्भावना कम देखेकाले प्रतिशत तोक्ने प्रस्ताव राखेका छन् । 

जसपा नेता राजेन्द्र श्रेष्ठले भने सिंगो गठबन्धनमा सहमति नभए सहमति हुने दलहरुबीच मिलेर चुनाव लड्ने बताएका छन् । यदि वीरगञ्जको नेतृत्व आफ्नो दललाई छाड्न तयार नभए विराटनगरमा माओवादी र एकीकृत समाजवादीसँग मिलेर लड्ने र कांग्रेसलाई नै हराउने उनको चेतावनी थियो ।
 

भागबण्डा सत्ता गठबन्धन स्थानीय तह निर्वाचन तयारी, परिचालन तथा अनुगमन समिति

विशेष