News

नेकपा एसले जँड्याहरुलाई ठिक पार्ने !

नेकपा एसले जँड्याहरुलाई ठिक पार्ने !

नेकपा (एकीकृत समाजवादी) ले मदिरा सेवन गर्नेहरुका लागि कार्डको ब्यवस्था गर्ने र घरेलु मदिरालाई अन्तर्राष्ट्रिय बजारमा ब्रान्डिङ गर्ने प्रतिवद्धता जनाएको छ।

वैशाख ३० हुने स्थानीय चुनावका लागि एकीकृत समाजवादीले जारी गरेको घोषणापत्रमा जथाभावी मंदिरा सेवनले गर्दा मानिसहरूको सम्पत्ति सकिने, परिवारमा झगडा हुने, मदिरा पिएर विभिन्न विकृति र अपराधका काम गर्ने कुरालाई कडाइपूर्वक नियन्त्रण गर्नु आवश्यक रहेको उल्लेख गरिएको छ। मदिरा सेवन गर्नेहरूले पालिकाबाट अनुमतिपत्र लिनुपर्ने व्यवस्था गरिने र यसबाट जथाभावी रूपमा मदिरासेवनमा नियन्त्रण हुने उल्लेख छ।

यसैगरी, जाँड तथा छ्याङलाई व्यवस्थित तरिकाले उत्पादन गरी अन्तर्राष्ट्रिय बजारमा पु¥याउन आवश्यक रहेको उल्लेख छ। ‘आफ्ना उत्पादनलाई धरासायी बनाउने र सोही काममा प्रयोग हुने विदेशी वस्तु आयात गरी देशको अर्थतन्त्रलाई परनिर्भर बनाउने प्रवृत्ति घातक छ,’ घोषणापत्रमा भनिएको छ ‘संघ र प्रदेश सरकारसँग आवश्यक तालमेल गरी नेपाली ब्रान्डिङ गरी बजारीकरण गर्ने कुरालाई पालिकाहरूले योजनावद्ध ढंगले अगाडि बढाउने छन्।’

एकीकृत समाजवादीले निःशुल्क खानेपानीको सुविधा उपलब्ध गराउने प्रतिवद्धता जनाएको छ। त्यसका लागि उसले स्वच्छ खानेपानीको सुविधा पुगेका पालिकाका हरेक घरपरिवारलाई मासिक पाँच हजार लिटर निःशुल्क उपलब्ध गराउन भनेको छ।

विद्युत सेवा नपुगेका हरेक घरमा आधारभुत विद्युत सेवा पु¥याउने र हरेक परिवारमा २०० युनिटसम्म विद्युत महसुलमा छुट दिने घोषणापत्रमा उल्लेख छ।

नेकपा एकीकृत समाजवादीले विगतमा नेकपा एमाले नेतृत्वको सरकारले ल्याएको लोकप्रिय कार्यक्रममा आफ्नो स्वामित्व दावी गरेको छ । वृद्ध भत्ता दिने र तत्कालिन गाविसमा बजेट पठाउने ‘आफ्नो गाउँ, आफैं बनाऔं’ लगायतका कार्यक्रमको स्वामित्व दाबी गरिएको छ । तत्कालीन एमालेमा गणतन्त्र स्थापनाको माग अघि सार्ने नेताहरु माधवकुमार नेपाल र झलनाथ खनाल दुबैजना अहिले एकीकृत समाजवादीमै भएकाले ती कार्यक्रमको स्वामित्वमा पनि हक लाग्ने उसको दाबी छ ।

यी कार्यक्रम २०५१ सालमा नेकपा एमालेका नेता मनमोहन अधिकारी प्रधानमन्त्री हुँदा सरकारले यी कार्यक्रम अघि सारेको थियो ।

‘गाउँगाउँमा सहकारी, घरघरमा रोजगारी’ कार्यक्रम, भूमिहीन सुकुम्बासीलाई जग्गाको लालपुर्जा वितरणजस्ता जनमुखी कार्यक्रम आफूहरुले कार्यान्वयनमा ल्याएको उल्लेख गरिएको छ । घोषणा पत्रमा ‘नौ स’ कार्यक्रमको पनि चर्चा र प्रसंसा गरिएको छ । 

‘नौ स’ अन्तर्गत स्वास्थ्य, शिक्षा, स्वच्छ खानेपानी, स्थानीय सडक, साना सिँचाइ, सघन वन, सामुदायिक विद्युतीकरण, साना तथा लघु उद्योग, सीपमूलक तालिमजस्ता पूर्वाधार र रोजगारमूलक कार्यक्रमहरू अघि सारिएका थिए ।’

एकीकृत समाजवादीले जारी गरेको घोषणापत्र यहाँबाट हेर्नुहोस।

विशेष