निलम्वित गभर्नर अधिकारीको पक्षबाट क–कस्ले गर्दैछन् वहस ?
सरकारको निर्णय विरुद्ध सर्वोच्च अदालत पुगेका निलम्वित राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले दिएको रिटमाथि आजबाट सुनुवाइ सुरू हुँदैछ। सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासमा आज पहिलो सुनुवाइ हुन लागेको छ।
अधिकारीको पक्षमा वरिष्ठ अधिवक्ताहरू राधेश्याम अधिकारी, शम्भु थापा, हरिहर दाहाल, शम्भु थापा, तुलसी भट्ट, सुशील पन्त, सतिशकृष्ण खरेल, सुरेन्द्र थापा, हरि उप्रेती, कृष्णप्रसाद भण्डारी र टिकाराम भट्टराईले बहस गर्दैछन्।
सरकारले आफूलाई गरेको निलम्बन कानुनविपरीत भएको भन्दै गभर्नर अधिकारीले आइतबार रिट दायर गरेका थिए। गत चैत २४ गते सरकारले अधिकारीलाई गभर्नर पदबाट निलम्बन गरेपछि यसविरूद्ध उनी सर्वोच्च अदालत गएका हुन्।
अधिकारीले आफूमाथि गरिएको कारबाही बदर गरी गभर्नरको जिम्मेवारीमा फर्किन अन्तरिम आदेश माग गर्दै रिट दायर गरेका छन्। उनले छानविनका लागि गठित समितिमा रहेका अध्यक्ष पूर्वन्यायाधीश पुरुषोत्तम भण्डारी र सदस्यहरुको निष्पक्षतामा समेत प्रश्न उठाएका छन् । भण्डारी अर्थमन्त्री शर्माको नातेदार रहेको तथा पौडेल र थापा माओवादी केन्द्रसँग आवद्ध रहेको भन्दै उनले ‘समितिले न्यायिक मन प्रयोग गरी निष्पक्ष रुपमा जाँचबुझ गरी प्रतिवेदन पेश गर्न नसक्ने’ दावी गरेका छन् ।