News

चुनावका नाममा चन्दा आतंक वढेपछि आईएनजिओले निकाले सूचना

चुनावका नाममा चन्दा आतंक वढेपछि आईएनजिओले निकाले सूचना

नेपालमा विकास परियोजना सञ्चालन गर्ने, समाजसेवा गर्ने र नागरिकलाई सशक्तीकरण गर्ने नाममा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ) भित्रिन्छन्। उनीहरुको परियोजना प्रस्तावमा पनि यही कुरा लेखिएको हुन्छ। प्रस्तावमा उल्लेख गरिए वाहेक यस्ता आईएनजिओले अन्य काम गर्न पाउँदैनन् ।

तर, कहिलेकाही आईएनजिओहरु क्रिस्चियन धर्म प्रचार र चन्दा वितरण लगायतका कारणले विवादमा परिररहन्छन् । सन् २०१५ देखि २०२० सम्मका लागि परियोजना प्रस्ताव स्वीकृत गराएको फिडा इन्टरनेसनलले ओखलढुंगा, सर्लाहीलगायतका जिल्लामा क्रिस्चियन धर्म प्रचार गरेको रिपोर्ट सार्वजनिक भएको थियो।

अहिले आएर आईएनजिओहरु चन्दाको कारणले चर्चामा आईरहेका छन् । नेपालमा सञ्चालित विकास साझेदार वा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूले चुनावको बेलामा राजनीतिक दल वा उम्मेदवारहरुलाई चन्दा दिन पाउँदैनन् । तर, विकास साझेदार र अन्तर्राष्ट्रिय संघसंस्थाले संयुक्त रुपमा सुचना प्रकाशित गरी स्थानीय तहको आगामी निर्वाचनमा चन्दा नदिने बताएका छन् । यसले के देखाउँछ भने यसअघि उनीहरुले राजनीतिक दललाई चन्दा दिदै आएका थिए र यस पटक पनि चन्दा माग्ने क्रम सुरु भएको छ।

संयुक्त राष्ट्र संघ, युरोपियन युनियन, जाइका, युके एड, कोइका, अस्ट्रेलियन एडलगायत १३ वटा विकास साझेदारहरूले सूचना निकालेर आफ्ना कर्मचारी र परियोजनाहरूले चन्दा वा जिन्सी सहयोगको दबाव सामना गर्नुपरेको बताएपछि राजनीतिक दलले चन्दा आतंक सुरु गरिसकेको विषय चर्चामा आएको छ।

सूचनामा भनिएको छ– ‘हाम्रा कर्मचारी वा साझेदारहरूप्रति लक्षित कुनै पनि प्रकारको जबरजस्ती त्रास वा धम्की दिने कार्य स्वीकार्न सक्दैनौं।’ उनीहरुले १५ बुँदे कार्य सञ्चालनसम्बन्धी आधारभूत मार्गदर्शनहरु जारी गरेका छन् । जसमा के–के काम गर्ने र नगर्ने भन्ने उल्लेख छ ।

सो सुचनाले चन्दा दिनै नमिल्ने संस्थाहरूले चन्दा दिदैनौ भनेर किन सुचना प्रकाशित गरे भन्ने प्रश्न पनि जन्माएको छ ।

राजनीतिक दलका नेताहरू भने विकास साझेदार र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरू (आईएनजीओहरू) ले नेपालका राजनीतिक दलहरूलाई बद्नाम गर्न यस्तो सुचना प्रकाशित गरिएको आरोप लगाउन थालेका छन् । केही राजनीतिक दलका नेताहरू भने निश्चित पार्टी र उम्मेदवारलाई मात्रै सहयोग गर्न ‘कूटनीतिक’ सुचना प्रकाशित गरिएको हुन सक्ने आशंका गर्छन् ।

तर, यस क्षेत्रसँग सम्बद्ध विज्ञ तथा सरोकारवालाहरू राजनीतिक दलहरूको र उम्मेदवारहरूको व्यवहारका कारण यस्तो सुचना निकाल्नै पर्ने वाध्यता आइलागेको हुन सक्ने बताउँछन् । 

चुनाव चन्दा आतंक आईएनजिओ

विशेष