News राजनीति

सार्वजनिक कार्यक्रममै देउवा र पौडेलको भनाभन, यस्तो छ कारण

सार्वजनिक कार्यक्रममै देउवा र पौडेलको भनाभन, यस्तो छ कारण

स्थानीय तह निर्वाचनमा एमालेलाई पत्तासाफ गर्ने योजनासहित ५ दलिय गठवन्धन वनाएर अघि वढ्ने निर्णय गरेको नेपाली कांग्रेस आफैभित्र भने असहमतिको पहाड छ। नेताहरु एकअर्कालाई असहयोग गरिरहेका छन् भने भित्रभित्रै पावर ब्यालेन्सको लडाई चलिरहेको छ।

यसैक्रममा मंगलवार नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) को ५३ औं स्थापना दिवसमा कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भनाभन भएको छ। 

वरिष्ठ नेता पौडेलले अहिलेको गठबन्धन शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन मात्र नभएको भन्दै टिप्पणी गरेपछि दुई जनाबीच घोचपेज चलेको हो । ‘यो गठबन्धन शेरबहादुरलाई प्रधानमन्त्री बनाउन मात्र होइन, लोकतन्त्र बचाउनका लागि हो’ कार्यक्रमलाई सम्वोधन गर्दै पौडेलले भनेका थिए–‘परिवर्तन बचाउनका लागि हो र अग्रगामी रुपान्तरणका लागि यो गठबन्धन हो।’

जवाफमा सभापति देउवाले आफूले प्रधानमन्त्री बनाइदेऊ भनेर रामचन्द्र पौडेलसँग नभनेको टिप्पणी गरे । उनले भने –‘मलाई प्रधानमन्त्री बनाइदेऊ भनेर मैले रामचन्द्रलाई भनेकै होइन। सबै साथीहरुले बन भन्नुभयो के गर्ने ?’

गठबन्धनका कारण प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन हार्दा पनि अहिले कांग्रेस सरकारमा सहभागी हुन पाएको भन्दै उनले कृतज्ञता जनाए । पछिल्लो समय पोखरा महानगरपालिकाको मेयरको उम्मेदवारको विषयमा देउवा र पौडेलबीच तनाव सुरु भएको कतिपय नेताहरु वताउँछन् ।

सभापति देउवाले माधवकुमार नेपाल नेतृत्वको नेकपा एकिकृत समाजवादीलाई पोखरा महानगरपालिका जिम्मा लगाउने योजना वनाए पनि पौडेलकै कारण त्यो सम्भव नभएको देउवाको वुझाई छ। पौडेलले आफना ज्वाई इन्जिनियर परमेश्वर पोख्रेललाई कांग्रेसबाट पोखराको मेयर बनाउन खोजेका छन्।

कांग्रेसले केन्द्रमा पठाएको १८ जना मेयरको आकांक्षीमा पोख्रेलको नाम पनि छ। पोखरा कांग्रेसको भावमा पार्न पाए देउवासँग लडाई गरेर भएपनि ज्वाइँको नाम पक्का गराउने योजना पौडेलको थियो। यही रडाकोका कारण अहिले देउवा र पौडेलका विचमा खटपट सुरु भएको कांग्रेसका नेताहरुको वुझाई छ।
 

शेरबहादुर देउवा रामचन्द्र पौडेल पोखरा महानगरपालिका परमेश्वर पोख्रेल

विशेष