News

गठबन्धनलाई माधव नेपाल घाँडो, हैसियत भन्दा वढि मागेको आरोप

गठबन्धनलाई माधव नेपाल घाँडो, हैसियत भन्दा वढि मागेको आरोप

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले गठवन्धनमा नेकपा एकीकृत समाजवादी घाँडो भएको वताएका छन् । नेकपा एसकै अडानका कारण चुनावी गठबन्धनमा भागवण्डाको कुरा नमिलेको उनले जनाएका छन। नेकपा एसले हैसियतभन्दा बढी दाबी गरेपछि चुनावी गठबन्धन पेचिलो बनेको निष्कर्ष उनको छ।

महानगरको भागवण्डा सहमतिको नजिक पुगे पनि उपमहानगरमा मिल्न बाँकी नै रहेको बताएका दाहालले ६ महानगरमा ३ कांग्रेसले लिने र ३ अन्य दलले लिनेमा सहमति भएको जानकारी दिए । काठमाडौं, ललितपुर, विराटनगर कांग्रेसलाई, भरतपुर माओवादी, वीरगन्ज जसपाले लिने सहमति भइसकेको उलने वताए । यद्यपी पोखराको विषयमा समस्या भएको प्रचण्डले बताए।

प्रचण्डका अनुसार एमालेले जितेकामध्ये कम्तीमा आधा उपमहानगर आफूलाई चाहिने एकीकृत समाजवादीको दाबी छ। कांग्रेसको घमण्ड र नेकपा एस घाँडो भएको दाहालको निष्कर्ष छ। 

मंगलबार अध्यक्ष प्रचण्डले बोलाएको केन्द्रीय कार्यालयको विस्तारित बैठकमा उपमहानगरपालिकाको भागबण्डा मिलाउन गाह्रो भएको ब्रिफिङ सुनेपछि नेताहरुले देशब्यापी तालमेलको सम्भावना नरहेको निष्कर्ष निकालेका छन् । कांग्रेसले ८ वटा उपमहानगरपालिका दावी गरेपछि समस्या आएको प्रचण्डले सुनाएका थिए ।

उता माओवादीले भने ११ मध्ये ४ वटा उपमहानगरपालिका लिने प्रयास गरिरहेको छ । हाल घोराही र जितपुर सिमरामात्र माओवादीले पाउने प्रस्ताव भएकोमा केन्द्रीय कार्यालयको विस्तारित बैठकमा चारवटा उपमहानगरपालिका बटमलाइन बनाउनुपर्ने विषयमा छलफल भएको हो ।

बैठकमा ६ मध्ये २ महानगरपालिकाको हैसियत माओवादीको भए पनि एउटामा मात्र चित्त बुझाउनु परेकाले ११ मध्ये ४ वटा उपमहानगरपालिका नछाड्न नेताहरूले प्रचण्डलाई दबाब दिएका छन् ।

माओवादीले जितपुर धरान, जितपुर सिमरा, हेटौंडा र घोराही उपमहानगरपालिका छाड्न नहुने नेताहरूले बताएका थिए । तर हेटौंडामा नेकपा एसको दाबी छ भने धरान कांग्रेसले नछाड्ने भनेको छ ।

नेकपा एसले जनमत नै नभएका ठाउँमा पनि अनावश्यक दाबी गर्दा गठबन्धनमा सहमति हुन नसकेको बैठकमा ब्रिफिङ भएको थियो ।

माओवादी बैठकमा प्रचण्डले कांग्रेसलाई छाडेर बाँकी दलमात्र मिलेर जाँदा के होला ? भन्ने प्रस्ताव समेत राखेको बताइएको छ । यदि उपमहानगरपालिकामा कांग्रेस लचिलो नबनेको खण्डमा माओवादी, जसपा र नेकपा एसमात्र मिल्दा पनि चारवटा जित्न सकिने र कांग्रेसले २ वटाभन्दा जित्न नसक्ने आँकलन माओवादीको छ ।

विशेष