News

किन सिफारिसमै परेनन ‘पत्रकारको नाकको डाँडी भाँच्छु’ भन्ने अराजक मेयर ?

किन सिफारिसमै परेनन ‘पत्रकारको नाकको डाँडी भाँच्छु’ भन्ने अराजक मेयर ?

पत्रकारको नाकको डाँडी भाँच्न एक करोड छुट्याएको धम्कीका कारण विवाद र चर्चामा आएका इटहरीका मेयर द्वारिकलाल चौधरी यस पटक उम्मेदवार नै बन्न नपाउने भएका छन् । इटहरीको मेयरका लागि नेकपा एमालेले चौधरीको नाम यस पटक समावेश गरेको छैन।

नेकपा एमाले प्रदेश १ कमिटीले विराटनगर महानगरपालिका, धरान र इटहरी उपमहानगरपालिकाको उम्मेदवार केन्द्रीय कमिटीलाई सिफारिस गर्दा चौधरी नाम समावेश गरिएको छैन। बुधबार विराटनगरमा बसेको प्रदेश कमिटीको बैठकले इटहरी उपमहानगरपालिकामा उपमेयर लक्ष्मी गौतम, प्रदेश सदस्य रामप्रसाद चौंलागाई, उपमहानगर अध्यक्ष यामकुमार सुब्बा र एमाले नेता बन्नुलाल चौधरीको नाम सिफारिस गरेको छ ।

नगर कमिटीले सिफारिस गरेका मेयरसहित दुई जनाको नाम भने प्रदेश कमिटीले कटौती गरेको छ । मेयर द्वारिकलाल चौधरी र रेवती घिमिरेको नाम प्रदेश कमिटीले केन्द्रमा पठाएन ।

प्रदेश सचिव पाठकले चौधरीको नाम तल्लो कमिटीबाट नआएका कारण प्रदेशले सिफारिस नगरेको दाबी गरे । उनले उपमेयरको उम्मेदवार छनोटका लागि संगीता चौधरी, अमला श्रेष्ठ, अम्बिका चौधरी, विष्णु शर्मा र रामचरण चौधरीको नाम सिफारिस गरेको बताए ।

मेयर चौधरी माधव नेपाल नेतृत्वको नेकपा एससँग नजिकिएको एमाले वृत्तमा आशंका छ। पार्टी फुटाएर निस्किएका नेता माधव नेपाललाई गत कात्तिक २६ गते चौधरीले घरमै वोलाएर भेटघाट गरेपछि उनीसँग एमाले नेताहरु सशंकित छन ।

त्यसको एक दिन अगाडि नेकपा एसका प्रदेश १ अध्यक्ष तथा उदयपुरको त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीसँग खानपान र भेटघाट गरेको तस्बिर र भिडियो पोस्ट गरेका चौधरीले २६ गते माधव नेपाल र प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईलाई घरमै स्वागत गरेका थिए ।

नेकपा एस इटहरी नगर कमिटीको फेसबुक अकाउन्टबाट मेयर चौधरी र इटहरी– ४ का अध्यक्ष चन्द्र भट्टराईको टोली नेकपा एसमा प्रवेश गर्न लागेको प्रचार पनि गरिएको थियो। तर, उनले एउटा नेता र मेयरको हिसावले भेटघाट गरेको र नेता नेपाल आफनो घरमा भात खान मात्रै आएको प्रतिक्रिया दिएका थिए ।

यस वाहेक पत्रकारसँगको विवादका कारण चर्चामा आएका चौधरीले त्यसवेला पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित सवै नेतालाई तथानाम गाली गर्दै कसैलाई नटेर्ने चेतावनी दिएका थिए । एमालेले आफुलाई कारवाही गर्न सक्दैन भन्दै उनले सिङ्गो पार्टी कमिटिलाई नै चुनौती दिएका  थिए ।

विराटनगर र धरानको नाम पनि सिफारिस
एमाले प्रदेश कमितिले विराटनगर महानगरपालिकाको मेयरमा सागर थापा, परशुराम बस्नेत, बाबुराम कार्की, महेश भट्टराई र रामलाल साहको नाम सिफारिस गरेको छ । सुझावका रुपमा प्रदेश १ सरकारका पूर्वमन्त्री तथा नेकपा एमाले केन्द्रीय सदस्य जीवन घिमिरेको नाम पनि सिफारिस गरिएको छ।

उपमेयरको उम्मेदवारका लागि शिल्पा कार्की, विमला दाहाल र अञ्जु उपाध्यायको नाम सिफारिस गरिएको एमाले प्रदेश १ कमिटी सचिव चिन्तन पाठकले जानकारी दिए। एक जनामात्र उम्मेदवार सिफारिस गर्ने प्रयास गरेपनि सहमति जुट्न नसक्दा महानगरको मेयरमा पाँच जनाको नाम सिफारिस भएको प्रदेश कमिटीले जनाएको छ ।

धरानको मेयरमा एमालेले मोतीराज सुनुवार, मञ्जु भण्डारी, बिजय राई र मनोज मेन्याङ्बोको नाम सिफारिस गरेको छ । नगर कमिटीले ११ जनाको नाम पठाएकामा प्रदेशले रमेश बस्नेत, किशोरकुमार कार्की, प्रकाश राई, दोर्पध्वज राई, मीन सुब्बा, नारायण सुवेदी, राजमणी निरौला, तीर्थ मास्केको नाम काटेको छ।

उपमेयरमा भने पदम इस्बो, लहरुमाया जिमी, सविता राई, सुशीला पहाडीको नाम सिफारिस गरेको छ । 
 

द्वारिकलाल चौधरी विराटनगर महानगरपालिका इटहरी उपमहानगरपालिका  धरान उपमहानगरपालिका

विशेष