News राजनीति

ओलीलाई प्रश्नः इमान्दार युवा र ७ करोड मध्ये के छान्नुहुन्छ ?

ओलीलाई प्रश्नः इमान्दार युवा र ७ करोड मध्ये के छान्नुहुन्छ ?

प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई एक जना युवाले ‘एक मेहनती युवा र ७ करोड रकम दिनेमध्ये कसलाई चुनावमा टिकट दिनुहुन्छ’ भन्दै प्रश्न गरेका छन् । चुनावमा इमान्दार कार्यकर्तालाई पन्छाएर राजनीतिक दलले पैसावाला तस्कर, ब्यापारी र ठेकेदारलाई टिकट वेच्ने गरेको गुनासो ब्याप्त रहेका वेला अध्यक्ष ओलीले यस्तो प्रश्नको सामना गर्नु परेको हो ।

बुधबार ललितपुरको गोदावरीमा आयोजित एक कार्यक्रममा रुपन्देहीका सरोज भट्टराईले सोधेको उक्त प्रश्नको जवाफमा अध्यक्ष ओलीले एमालेलाई कुनै प्रलोभनमा पार्न सम्भव नभएको प्रतिक्रिया दिए। उनले अनुचित पैसा, अनुचित कारोबार, अनुचित प्रलोभन र अनफेयर खालको कुनै पनि गतिविधिलाई आफ्नो पार्टीले छेउमा पनि गर्न नदिने दाबी गरे।

राजनीतिमा सहभागी हुन सबैलाई मैदान खुला रहेको बताएका उनले यसमा तोकिएको खेलाडी नहुने हुनाले सबैले भाग लिन पाउने तर्क गरे। ‘पोलिटिकल फिल्ड इज अल्वेज ओपन फर एभ्रिबडी। यो कसैको पनि ठेक्कापट्टाको विषय होइन। यो सबैका लागि खुला छ। मैदान खुला छ।’ उनले भने–‘यो चाँही ओपन म्याराथन हो। तोकिएका खेलाडी छैनन् यसमा। सबैले यसमा भाग लिन पाउँछन।’

ओलीले ‘सात करोड होइन, सात सय करोड, सात हजार करोड, सात लाख करोड जति अफर कसैले गर्छ भने पनि एमालेलाई किन्न, खरिद गर्न सम्भव छैन’ भन्दै जवाफ दिए ।

युवाहरुको एकमुष्ट जवाफ दिने क्रममा ओलीले युवाहरुको चेहरा र अभिव्यक्तिमा देश भक्तिको आकांक्षा र राष्ट्रिय एकता देखेको भन्दै त्यसमा आफु ढुक्क रहेको बताए । ‘कुरा गर्ने काम नगर्ने, अपेक्षा गर्ने मेहनत नगर्ने बानी छ । त्यस्ता कुरालाई आफैबाट पनि हटाउनुपर्छ’,ओलीले भने।

विशेष