News

पोखरामा गठवन्धनको निर्णय अवज्ञा, नेकपा एसलाई जिताउने निर्देशनपछि कांग्रेस कार्यालयमा ताला

पोखरामा गठवन्धनको निर्णय अवज्ञा, नेकपा एसलाई जिताउने निर्देशनपछि कांग्रेस कार्यालयमा ताला

नेपाली कांग्रेसका नेता/कार्यकर्ताले पोखरास्थित आफनै पार्टी जिल्ला कार्यसमितिको कार्यालयमा तालवन्दी गरेका छन् । पोखरा महानगरको मेयर कांग्रेसले नपाएको भन्दै उनीहरुले कार्यालयमा ताला लगाएका हुन।

नेपाली कांग्रेस पोखरा महानगर कार्यसमितिले जिल्ला कार्यालयमा ताला लगाएको पोखराका सचिव गणेशबहादुर थापाले बताए। कार्यकर्ताको भावनाविपरीत पोखराको मेयर अरू पार्टीलाई दिएकाले ताला लगाईएको उनको भनाई छ।

सत्ता गठबन्धनको मंगलबार बसेको शीर्ष बैठकले पोखरा महानगरको मेयर एकीकृत समाजवादीलाई दिने निर्णय गरेको थियो। गत सोमबार कास्की कांग्रेसले विज्ञप्ति निकालेर जिल्ला स्तरको गठबन्धनबाट बाहिरिन र स्वच्छ प्रतिस्पर्धामा उत्रिन समाजवादीलाई आग्रह गरेको थियो। विज्ञप्तिमा समाजवादी पार्टीलाई मेयर मात्र होइन, कुनै पनि वडामा वडा सदस्य समेत दिन नसकिने कांग्रेसले जनाएको थियो। थापा भन्छन्– ‘हामी कांग्रेसबाहेक अरू दललाई भोट दिन सक्दैनौं।’

जिल्ला कार्यालयमा तालाबन्दीपश्चात बुधबार दिउँसो पोखराका वडा सभापतिहरूको भेला डाकिएको सचिव थापाले बताए। नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलवार गण्डकी प्रदेशका सभापति र कास्की कांग्रेसका सभापतिलगायत नेताहरूसँग छलफल गरेका थिए।

कास्की कांग्रेसका नेताहरूले जिल्लाको बस्तुगत अवस्थाबारे सभापति देउवालाई जानकारी गराएका थिए।नेता यज्ञबहादुर थापाले सभापति देउवालाई भेटेर कास्की कांग्रेस र त्यहाँका मतदाताका चाहनाबारे सभापति देउवालाई जानकारी गराइएको बताए।

तर, देउवाले भने पोखरा महानगरपालिकामा मेयरको दाबी छाडेर गठबन्धनकालागि सहयोग गर्न आग्रह गरेका छन् । नेता थापाले पोखरामा कांग्रेसबाहेक गठबन्धनको अर्को दललाई चुनाव जित्न मुस्किल हुने बताएका छन् ।

गत निर्वाचन पनि पोखरा महानगरपालिकामा नेपाली कांग्रेस र माओवादी केन्द्रको गठबन्धन थियो । तर, नेकपा एमालेका मानबहादुर जिसीले भारी मतान्तरसहित चुनाव जितेका थिए । जिसीले ६० हजार ४ सय २३ मत ल्याएका थिए भने गठबन्धनका लागि कांग्रेसका उम्मेदवार रामजी कुँवरले ४६ हजार ४ सय १६ मत मात्रै पाएका थिए ।

‘विगतको भन्दा अहिलेको अवस्था फेरिएको छ । त्यहाँ कांग्रेसको पक्षमा जनलहर छ । कांग्रेस एक्लैको मत ठूलो छ, अर्को दलमा हुँदा कांग्रेसको पक्षमा जुन माहोल छ, त्यस्तो माहोल आउने देखिदैन,’ नेता थापाले भने, ‘हामीले नेताहरूलाई त्यही कुरा राखेका छौँ ।’

विशेष