News

बालबालिकालाई राजनीतिमा ल्याउन निर्देशन दिएपछि देउवा विवादमा

बालबालिकालाई राजनीतिमा ल्याउन निर्देशन दिएपछि देउवा विवादमा

स्थानीय तह निर्वाचनको मुखैमा प्रधानमन्त्री शेरबहादुर देउवा विवादमा परेका छन्। नेपाल विद्यार्थी संघको स्थापना दिवसका अवसरमा मंगलवार दिएको अभिब्यक्तिका कारण देउवा विवादमा परेका हुन ।

नेविसंघको स्थापना दिवसमा देउवाले हरेक विद्यालयमा नेविसंघको कमिटीहरु गठन गर्न आह्वान गरेका थिए । प्रधानमन्त्रीको उक्त आह्वानले बालबालिका र विद्यालय शान्ति क्षेत्र हुन् भन्ने मान्यतालाई चुनौती दिँदै कानुन विपरीत कार्य गर्न प्रोत्सहान गरेको भन्दै ‘बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान’ ले आपत्ति जनाएको छ।

अभियानका अध्यक्ष राजेश शर्मा र महासचिव मिना शर्माले संयुक्त विज्ञप्ति जारी गरी प्रधानमन्त्रीले बालबालिका सम्बन्धी ऐन २०७५ को दफा ७ तथा दफा ६६ को विपरीत वक्तव्य दिएको बताएका छन् ।

ऐनमा बालबालिकालाई राजनीतिक प्रयोजनका लागि संगठित गर्न, बन्द, हड्ताल चक्काजाम धर्ना वा जुलुसमा प्रयोग गर्न नपाइने उल्लेख छ । ‘प्रधानमन्त्रीको आह्वानले विद्यालयको शैक्षिक कार्यक्रमहरुमा प्रत्यक्ष असर पार्नुका साथै बालबालिकाको भविष्य तथा हाम्रो समाजलाई दूरगामी रुपमा नकारात्मक असर पार्दछ,’ अभियानद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

देउवाले नेविसंघ सभापतिलाई गाउँका स्कुलमा संगठन विस्तार गर्न आग्रह गरेका थिए। उनले भनेका थिए– ‘सदरमुकामका स्कुलमा संगठन गरेर हुन्न। गाउँका स्कुलमा नेविसंघ बनाउनुस्।’

विशेष