News

हैदराबाद हाउसबाट दुर्गा प्रसाईलाई देउवाको यस्तो छ जवाफ

हैदराबाद हाउसबाट दुर्गा प्रसाईलाई देउवाको यस्तो छ जवाफ

तीन दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एमालेका नेताहरुको खिसिट्युरीका बीच समकक्षी नरेन्द्र मोदीसँग सीमा समस्याबारे छलफल गरेका छन्। 

प्रधानमन्त्री देउवा र मोदीबीच हैदराबाद हाउसमा शनिबार भेटवार्ता भएको थियो । त्यसपछि प्रतिनिधिमण्डलस्तरमा छलफल हुनुका साथै चार समझदारीमा हस्ताक्षर भएको छ । लगत्तै आयोजित संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै देउवाले भने, ‘हामीले सीमा समस्याबारे छलफल गरेका छौं । र, मैले यसलाई द्विपक्षीय संयन्त्रहरुमार्फत समाधान गर्न प्रस्ताव गरेको छु ।’

यसैगरी, देउवाले पञ्चेश्वर बहुउद्देशीय परियोजनाको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) अघि बढाउन पनि मोदीसमक्ष आग्रह गरेका छन् । जवाफमा मोदीले पञ्चेश्वर परियोजना तीव्र गतिले अगाडि बढ्ने र यसको महत्वमा जोड दिएको बताए । यो परियोजना यो क्षेत्रको विकासका लागि एक गेमचेन्जर सिद्ध हुने मोदीले बताए।

पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको २००३ मा पहिलोपटक डीपीआर भएको थियो । सन् २०१४ मा नयाँ डीपीआर बनाउनुपर्ने आवाज उठे पनि हालसम्म त्यस परियोजनामा कुनै प्रगति हुन सकेको छैन ।

देउवाले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा इयर रुट दिन पनि मोदीलाई आग्रह गरेको बताए । यसैगरी, चाँदनी दोधारा, भैरहवा लगायतका स्थानमा संयुक्त सीमा चेकपोस्ट बनाउने विषयमा पनि छलफल भएको देउवाले बताए ।

भारतीय प्रधानमन्त्री मोदीले भने नेपालको सीमा भारतीय हितविपरीत प्रयोग हुन सक्ने विषयमा देउवालाई सचेत गराएका छन्। मोदीले भने, ‘नेपालको भूमि भारतको हितविपरीत प्रयोग हुन नदिन म आग्रह गर्दछु ।’

नेकपा एमालेका केन्द्रीय सदस्य एवम् मेडिकल ब्यवसायी दुर्गा प्रसाईले सीमा विवादसँग जोडेर देउवाको भ्रमणबारे टिप्पणी गरेका थिए । ‘शेरबहादुर देउवाले जयसिंह धामीलाइ किन तुइन चुँडाएर मारेको भनेर मोदिलाइ सोध्छन त ? महाकाली खोलाको बहाव परिवर्तन किन गरेको भनेर सोध्लान त ? लिपुलेक र कालापानी हाम्रो हो त्यो बाटो बनाउन तुरुन्त बन्द गर भन्ने आँट गर्छन त’ प्रसाईले ट्वीटरमा लेखेका छन्–‘नेपालको तर्फबाट चुच्चे नक्सा मायाको चिनो दिएर आउलान त ?’

यो पनि,

विशेष