एकीकृत समाजवादीद्वारा गठवन्धन छोडेको घोषणा !
नेपाली कांग्रेसको एकलौटीको विरोध गर्दै झापामा ५ दलीय गठबन्धनबाट एकीकृत समाजवादी बाहिरिएको छ।
एकीकृत समाजवादीका झापा जिल्ला अध्यक्ष बेदराज रेग्मीले कांग्रेसले सहमति तोडेको आरोप लगाएका छन् । विगतमा भएको सहमतिबाट कांग्रेस पछि हटेकाले गठबन्धनमा बस्नुको औचित्य नभएको उनको भनाई छ।
समाजवादीले झापामा एक प्रमुख, ६ उपप्रमुख र १५ वडाध्यक्ष माग गरेको थियो । तर कांग्रेसले समाजवादीलाई अर्जुनधारा नगरपालिका र कमल गाउँपालिकाको उपप्रमुख मात्रै दिने भनेको थियो । गठबन्धनबाट बाहिरिने घोषणासँगै एकिकृत समाजवादीले झापाका सबै स्थानीय तहमा प्रमुख तथा उपप्रमुखका उम्मेदवारको नाम पनि सार्वजनिक गरेको छ ।
यता, कांग्रेसका नेताहरुले भने समाजवादीले अस्वभाविकरुपमा भाग खोजेको दाबी गरेका छन् । झापामा कांग्रेसले १४ वटा स्थानीय तहको प्रमुखमा दाबी गरेको छ भने माओवादीलाई एउटा स्थानीय तहको प्रमुख दिने सहमति भएको छ ।