News

काठमाण्डौंमा गठवन्धन विरुद्ध एमालेको ‘मिसाईल’– केशव स्थापित उम्मेदवार

काठमाण्डौंमा गठवन्धन विरुद्ध एमालेको ‘मिसाईल’– केशव स्थापित उम्मेदवार

नेकपा एमालेले ५ दलिय गठवन्धनको चुनौती चिर्न केशव स्थापितलाई काठमाडौं महानगरपालिका प्रमुखको उम्मेदवार वनाउने भएको छ। हाल बागमती प्रदेशसभा सदस्य रहेका स्थापित २५ वर्षपछि दाश्रो पटक काठमाडौं महानगरको बागडोर सम्हाल्ने तयारीमा जुटेका छन् ।

स्थापितलाई मेयर बनाउने आन्तरिक तयारी भएको र औपचारिक निर्णय आगामी १० वैशाखमा बस्ने सचिवालय बैठकले गर्ने एक नेताले जानकारी दिए । काठमाडौंको प्रमुखका लागि एमाले नगर कमिटीले २ वैशाखमा ५ जनाको नाम सिफारिस गरिसकेको छ। 

नगर कमिटीले वर्तमान प्रमुख विद्यासुन्दर शाक्य, संघीय सांसद रामवीर मानन्धर, प्रदेश सांसद केशव स्थापित, निर्मल देउला र नेकपा एकीकृत समाजवादीका प्रदेश सांसद वसन्त मानन्धरकी पत्नी इन्दिरा पन्तको नाम जिल्लामा सिफारिस भएको थियो। 

५ मध्ये सबैभन्दा हेविवेट स्थापित नै देखिएकाले गठबन्धनको चुनौती चिर्न उनैलाई काठमाडौंको उम्मेदवार बनाउने सहमति भइसकेको एमाले उच्च स्रोतले जनाएको छ।

०७४ को निर्वाचनबाट मेयर बनेका विद्यासुन्दर यस पटक हार्न सक्ने आँकलन छ। बागमती प्रदेशको पूर्व भौतिक पूर्वाधारमन्त्री भइसकेका स्थापित यसअघि पनि २०५४ सालमा एक कार्यकाल काठमाडौंको प्रमुख बनेका थिए। 

बाग्मती प्रदेशको पहिलो भौतिक पूर्वाधार तथा विकास मन्त्री पनि भएका स्थापित प्रदेश मन्त्रिपरिषद्को बैठकमा मुख्यमन्त्री डोरमणी पौडेलसँग चर्काचर्की भएपछि वर्खास्त भएका थिए । केसब स्थापित जति गफ लडाए पनि काम गर्ने सबालमा जनताको नजरमा परेका व्यक्ति हुन ।

२०५१ सालमा धेरै बिबाद र तीव्र आलोचनावीच पनि स्थापितले खेलकुद परिषद्को सदस्य सचिव भएर राम्रो काम गरेर देखाएका थिए। त्यसपछि उनी ०४९ को स्थानीय निकायको चुनावमा उपमेयरमा पराजित भए। तर ०५४ मा मेयर नै जितेर देखाई दिए। मेयर हुँदा बिबाद र आलोचनाका बीचमा पनि उनले राम्रा र उदाहरण योग्य काम गरेका छन् ।

उनले हालको माइतीघर मण्डला रहेको व्यस्त बजारमा सडक अतिक्रमण गरेर बनाएको बजार नै भत्काएर रातारात आकर्षक मण्डला तयार पारेका थिए । कालिमाटी कुलेश्वर खण्ड विस्तार गरेर जनताको नजरमा बिकासप्रेमी नेताको उपमा पनि पाएका मान्छे हुन । आधुनिक काठमाण्डौंमा आशा र उर्जाको प्राण भर्ने मान्छे हुन स्थापित। समग्रमा क्षमता भएका नेता मै पर्छन स्थापित, तर अस्थिरता र आफ्नो योजना र सपनाभन्दा अरुको योजना र सपनालाई कम आकने स्वभाव उनको कमजोरी हो ।

मान्छेलाई उत्साहित पार्ने, प्रेरणा भर्ने र झिलिमिली सपनाको खेति गर्ने मान्छेमा गनिन्छन स्थापित। बाबु बितेको बेला पनि सडकमा बसेर स्काभेटरसंगै कामलाई प्राथमिकता दिएको बेलादेखि केशब खासगरी चर्चामा आएका हुन। अहिले पनि उनको त्यो जोश मरिसकेको छैन।

राष्ट्रियस्तरको व्यक्तित्व भएका काठमाडौँको रैथाने नेवार हुन । उपत्यकाभन्दा बाहिर पनि सांगठनिक सञ्जाल भएका सबैले चिनेका बुझेका र जानेका खरो र स्पष्ट बक्ताको रुपमा उनको व्यक्तित्व बनेको छ । बोलीहाल्ने, सपना देखाई हाल्ने, योजना सुनाई हाल्ने, आशाबादी बन्न प्रेरित गर्ने व्यक्तिको रुपमा नेता कार्यकर्ताको वीचमा छवि निर्माण गरेका स्थापित काम नगर्ने, कुरा मात्रै गर्नेको भिडमा काम गर्ने मान्छेमा गनिन्छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीकै लाईनका ब्यक्ति हुन भनेर पनि उनलाई कतिपयले चिन्ने गर्छन। 

जानकारहरुका अनुसार उनी जोखिम लिन सक्छन् तर छुद्र वोल्छन्। व्यापारिक योजना र सपनाको जाल बुन्न सिपालु छन्। उनको कुरा धेरैलाई अपत्यारिलो लागेपछि उनका योजना र सपना पत्याउँने मात्रै हो भने देशको गरिबी, असमानता र पछौटेपन सकिन धेरै कुर्नु पर्दैन ।

स्थापित ०४७ सालमा तत्कालिन एमालेको शक्तिशाली भातृ संगठन प्रजातान्त्रिक राष्ट्रिय युवा संघको संस्थापक महासचिव वनेर राजनीतिमा आएका हुन। युवा संघको अध्यक्ष त्यतिवेला केपी शर्मा ओली थिए । ओलीपछि उनी आफै अध्यक्ष बनेका थिए। तर, उनले राजनीतिमा खासै फड्को मार्न सकेका छैनन्। 

उनीभन्दा पछिका युवा संघ हाक्ने नेताहरु पार्टी पदाधिकारी र स्थाई कमिटिको सदस्य अनि राज्यको पावरफुल मन्त्री बनिसक्दा पनि स्थापित भने केही स्वभावजन्य कमजोरीका कारण पछि परेको कतिपयले विश्लेषण गर्ने गरेका छन् । राजा ज्ञानेन्द्रको टिके मेयर, प्रजापरिषद्को अध्यक्षदेखि माले माओवादी अनि संघीय समाजवादी पार्टीसम्म भ्रमण गर्न भ्याएका उनी यस्तै कारणले पछि परेको उनीहरुको विश्लेषण छ।
 

केशव स्थापित

विशेष