News

नेपालमै भेटिए यस्ता गाउँपालिका अध्यक्ष जसले आफ्नो गाडी गाउँपालिकालाई भाडामा दिएर आफै चढ्छन्

नेपालमै भेटिए यस्ता गाउँपालिका अध्यक्ष जसले आफ्नो गाडी गाउँपालिकालाई भाडामा दिएर आफै चढ्छन्

स्थानीय तहका जनप्रतिनिधिले राज्यकोषको दोहन गर्न अनेकौँ उपाय निकाल्ने गरेकाछन् । आफु कुर्सीमा रहुन्जेल कसरी हुन्छ उपाय निकालेर राज्यकोषको दोहन गर्न तल्लिन अधिकांश जनप्रतिनिधी मध्ये उपत्यकाकै एउटा जिल्लामा थप नमुना भेटिएको छ । जहाँ गाउँपालिका अध्यक्षले आफ्नो निजि गाडीलाई गाउँपालिकाबाट आफै रकम असुल्ने जोरजुलुम निकालेकाछन् । 

ललितपुरको बाग्मती गाउँपालिका अध्यक्ष वीरबहादुर लोप्चनले आफ्नो ‘निजी गाडी’ गाउँपालिकालाई भाडामा लिन लगाएर आफैं चढ्ने गरेको खुलासा भएको छ ।

वडा ४ प्युटार बस्ने मखमली घले अध्यक्ष लोप्चनकी साली हुन् । उनैको नाम रहेको गाडी मासिक भाडा बुझाउने गरी गाउँपालिकाले सम्झौता गरेको पाइएको छ । जुन, गाडी अध्यक्ष लोप्चन चढ्छन् ।

पालिकाले १ कात्तिक २०७७ देखि २०७८ असार मसान्तसम्म मासिक १ लाख ८० हजार भाडा बुझाउनेगरी सम्झौता गरेको छ । सम्झौतामा ‘सवारी चालक सवारीधनीले उपलब्ध गराउनुपर्ने’ भनिए पनि ‘पालिकाबाटै सवारी चालकको तलबसमेत लिइने गरेको’ उल्लेख छ ।

गाउँपालिकाले अध्यक्षले प्रयोग गर्नेगरी आर्थिक वर्ष २०७४-७५ देखि नै ‘कोटेसन’गरी लोप्चनले पत्नी सीता लोप्चनको नाममा रहेको ‘महिन्द्र स्कारपियो फुल अप्सन फोर ह्विल गाडी’ भाडामा लिएको थियो । बा१८च ९९६८ नम्बर सेतो रङको डिजेल गाडी भाडामा लिइएको थियो ।

‘पत्नीकै नाममा रहेका गाडी भाडामा लिएको?’ भनी प्रश्न उठ्न थालेपछि साली मखमली घलेको नाममा ‘नामसारी’ गरी आर्थिक वर्ष २०७५/७६ देखि हालसम्म निरन्तर भाडामा लिएर अध्यक्ष आफैं चढिरहेका छन् ।

विशेष