News समाज

संघीयताले सास्तीः मतदान केन्द्र पुग्न १० घण्टा पैदल, तीन दिन खर्च

संघीयताले सास्तीः मतदान केन्द्र पुग्न १० घण्टा पैदल, तीन दिन खर्च

देशमा संघीयता आएपछि हरेक कुरामा सुविधा हुन्छ भन्दै दावी गरेका राजनीतिक दलका नेताहरुलाई हुम्लाको ताजाकोटा गाउँपालिका–३, मासपुर गाउँले अहिले पनि गिज्याई रहेको छ। यो गाउँ सदरमुकाम सिमकोटबाट पाँच दिन टाढा छ।

यति मात्रै होईन, वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा मतदान गर्न यो गाउँका मानिसले १० घण्टा पैदल यात्रा गर्नु पर्ने भएको छ।  मतदान केन्द्र टाढा भएकै कारण धेरै मतदाता मतदानमा सहभागी नहुने सम्भावना समेत छ।

मासपुर गाउँवासीका लागि वडा कार्यालय नजिकैको कैलाश आधारभूत विद्यालयमा मतदान केन्द्र राखिएको छ। त्यहाँ पुग्न परै एक दिन लाग्ने मासपुरका टेकबहादुर रोकायाले बताए। एक दिन पुग्न, एक दिन लाईन लागेर भोट हाल्न अनि अर्को दिन फर्किन गरी जम्मा तीन दिन लाग्ने भएकाले हम्मेसी कसैले पनि भोट हाल्ने इच्छा नगरेको उनी वताउँछन् ।

२३ घरधुरी रहेको मासपुरमा १०३ जनाको वसोवास छ । गाउँमा मतदाता परिचय पत्र भएका ३७ जना मतदाता छन। त्यसमध्ये पनि ६० वर्षमाथिका १० मतदाता रहेको जनाईएको छ। वडा कार्यालयले मतदान केन्द्र टाढा भएको जानकारी गराउँदा पनि वास्ता नगरिएको वडा सचिव विष्णुलाल सार्कीले बताए ।

२०७० सालको संविधानसभा चुनावदेखि स्थानीयवासीले गाउँमा मतदान केन्द्र राख्न माग गर्दै आएका छन्। तर, त्यसवेला उनीहरुको माग सुनुवाई भएन। ०७४ सालको निर्वाचनमा पनि मतदान केन्द्र राख्ने विषय अन्यौल भएपछि यो गाउँका अधिकांश मानिस मतदानमा सहभागि भएका थिएनन्।

जिल्ला निर्वाचन कार्यलय हुम्लाका नायव सुब्बा श्यामबहादुर रानाले यसपालि नयाँ मतदान केन्द्र थप्ने कुनै कार्यक्रम नभएकाले मासपुरमा मतदान केन्द्र स्थापना गर्न नसकिएको बताए । हुम्लाकी प्रमुख जिल्ला अधिकारी सीता परियारले मासपुरबाट मतदान केन्द्र आउन १० घण्टाभन्दा बढी समय लाग्ने आफूले पनि थाहा पाएको बताइन् । त्यहाँ मतदान केन्द्र स्थापना गर्ने नगर्ने माथिल्ला निकायको निर्णयमा भर पर्ने उनको भनाई छ।

निर्वाचन आयोगका सूचना अधिकारी तथा सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले अहिलेसम्म यसबारेमा कुनै जानकारी नआएको वताए । 

मासपुर

विशेष