News

प्रोटोकल मिचेर किन भाजपाको मुख्यालयमा पुगे प्रधानमन्त्री देउवा ?

प्रोटोकल मिचेर किन भाजपाको मुख्यालयमा पुगे प्रधानमन्त्री देउवा ?

तीनदिने भ्रमणका क्रममा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा सत्तारूढ भारतीय जनता पार्टीको मुख्यालय पुगेको विषयमा आलोचना भईरहेको छ। कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवा दिल्ली उत्रिएलगत्तै भाजपाको कार्यालय गएका थिए । 

नेपालका प्रधानमन्त्री भारतको कुनै पनि पार्टी कार्यालयमा पुगेको यो पहिलो पटक हो । भारतका लागि नेपालका पूर्वराजदूत नीलाम्बर आचार्यका अनुसार प्रधानमन्त्री देउवा ‘आउट अफ प्रोटोकल’ भाजपाको मुख्यालयमा पुगेका छन् ।

प्रधानमन्त्री देउवाले प्रोटोकल मिचेको उनको भनाई छ। नेपालको परराष्ट्र मन्त्रालय र भारतको विदेश मन्त्रालयले जारी गरेको देउवाको औपचारिक भ्रमण तालिकामा पनि भाजपाको कार्यालय जानेबारे उल्लेख गरिएको छैन । 

नेपालका प्रधानमन्त्री भाजपाका नेतालाई भेट्न पार्टी कार्यालयमै पुगेकामा भारतका लागि नेपालका पूर्वराजदूत तथा कांग्रेस नेता दीपकुमार उपाध्यायले पनि आश्चर्य व्यक्त गरेका छन्। नेकपा एमालेका नेता भिम रावले देउवाको भ्रमण ब्यक्तिगत होकी प्रधानमन्त्रीको हैसियतमा हो ? भनेर प्रश्न उठाएका छन् । ‘शेरबहादुर देउवाको भारत भ्रमण प्रमंको हैसियतले हो की, नेका सभापतिको ?’ उनले प्रश्न गरेका छन्–‘भाजपा कार्यालयमा कुन उद्देश्य र कूटनीतिक मर्यादा पूरा गर्न गइएको हो? श्रीमती देउवाले भाजपाका विदेश विभाग प्रमुखसँग पारिवारिक सम्बन्ध भएकाले गएको भन्ने समाचार आयो। भ्रमण पारिवारिक  हो र? यस्तै कामले नेपाल हेपिन्छ।’

देउवाको भारत भ्रमणका क्रममा विपक्षी भारतीय राष्ट्रिय कंग्रेसका नेताहरूलाई भेट्ने कार्यक्रम भने छैन । यसले नेपाली कांग्रेस र भारतीय कंग्रेसबीच रहँदै आएको पुरानो सम्बन्ध नवीकरणमा ठेस लागेको अर्थमा पनि कतिपयले विश्लेषण गरिरहेका छन्।

सन् २०१४ देखि नयाँदिल्लीमा बलियो केन्द्रीय पार्टीका रूपमा उदाएको भाजपा र नेपाली कांग्रेसबीच सुमधुर सम्बन्ध थिएन । भाजपाले पटक–पटक दिल्लीमा सरकार बनाए पनि नेपाली कांग्रेसको निकट सम्बन्ध भारतको कंग्रेस र समाजवादी दलहरूसंगै बढी थियो ।

प्रधानमन्त्री देउवाले पुरानो मित्रशक्ति भारतीय कंग्रेसलाई छाडेर अब नयाँ शक्ति भाजपासँगै निकटता राख्ने चाहेको देखिन्छ । भारतीय सत्तारुढ पार्टीसँग सम्वन्ध विस्तार गर्न देउवाले आफू सत्तामा आएपछि असोज २१ देखि २५ सम्म पूर्वपरराष्ट्रमन्त्री प्रकाशशरण महतको नेतृत्वमा तीन सदस्यीय (उदयशमशेर राणा र अजयकुमार चौरसिया) टोलीलाई भारत पठाए । 

पछिल्ला वर्षहरूमा भारत स्वतन्त्र भएपछि एकछत्र राज रहेको भारतीय राष्ट्रिय कंग्रेस कमजोर भइरहेको छ भने भाजपा झन–झन् बलियो हुँदै आइरहेको छ । भाजपा भारतका विभिन्न राज्यहरूमा आफ्नो विस्तारलाई अघि बढाउँदै छ तर कंग्रेसले एकपछि अर्को गर्दै केन्द्रदेखि राज्यहरूमा समेत आफ्नो उपस्थिति गुमाइरहेको छ ।

यस्तो अवस्थामा नेपाली कांग्रेसले भारतीय कांग्रेससँगको मित्रता तोड्न खोजेको रुपमा पनि विश्लेषण भईरहेका छन् ।
 

विशेष