News

भ्यूटावर विरोधीलाई ओलीको जवाफ– गुजराती भैँसी पालेको हो र दुध दिनलाई ?

भ्यूटावर विरोधीलाई ओलीको जवाफ– गुजराती भैँसी पालेको हो र दुध दिनलाई ?

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले धरहरा र भ्यू टावर निर्माणको आलोचना गर्नेको सातो उडाएका छन्। धरहरा र भ्यूटावरको लगानी अनुत्पादक भएको भन्दै आलोचना गर्नेहरुलाई ‘धरहरामा पहिले धान फल्दैन थियो’ भन्दै जवाफ फर्काएका छन् ।

नेपाल कम्युनिस्ट पार्टीको ७४औं स्थापना दिवस तथा स्थानीय तह निर्वाचन ०७९ को चुनावी घोषणापत्र सार्वजनिक कार्यक्रममा ओलीले भने–‘कांग्रेसहरू र यो गठबन्धन त के भन्दै छ भने भ्यू टावर बनाउनु हुँदैन अरे । अनि त्यहाँ के धान फल्छ त धान ? धरहरामा पहिले धान फल्थ्यो ? अनि त्यहाँ के पसल राख्ने धरहराका टुप्पामा लिएर ?’

एमाले नभएको भए भुकम्पले ढलेको धरहरा अहिलेसम्म देख्न पाईदैनथ्यो भन्दै ओलीले भ्यू टावरहरु राष्ट्रका गौरव हुने बताए । धरहरा र भ्यू टावरले केही दिँदैन भनेर आलोचन गर्नेलाई उनले जवाफ दिए, ‘गुजराती भैँसी किनेर बाँधेको हो ? जर्सी किनेर बाँधेको हो र दूध दिनलाई ?’

भ्यू टावरको विषयमा जसपाका संघीय परिषद अध्यक्ष बावुराम भट्टराई नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, मन्त्री रामकुमारी झाँक्री, नेपाली कांग्रेसका नेता शेखर कोईराला लगायतले विरोध गर्दै आएका छन् । यथार्थमा अनावश्यक ठाउँमा पनि भ्यूटावर निर्माण गर्ने होडवाजी चलेपछि जनस्तरबाटै यसको विरोध भईरहेको छ।

विशेष