News

देउवालाई आत्मघाती बन्दै गठवन्धनः राजिनामा दिने र बागी बन्ने होड

देउवालाई आत्मघाती बन्दै गठवन्धनः राजिनामा दिने र बागी बन्ने होड

स्थानीय तह भागवण्डाको निर्णयप्रति असन्तुष्टि जनाउँदै नेपाली कांग्रेसका नेताहरुले धमाधम पार्टी छोड्न थालेका छन् । कांग्रेस आफैले जित्ने स्थानीय तह पनि गठवन्धनका नाममा शेरबहादुर देउवाले अरुलाई जिम्मा लगाएको भन्दै असन्तुष्टहरुले राजिनामा दिन थालेका छन् ।

सभापति देउवा भने संघ र प्रदेशको निर्वाचनमा पराजित भएपनि प्रधानमन्त्री बनाई दिएको भन्दै माओवादी लगायत पाँचदलिय गठवन्धनका नेताहरुप्रति नतमस्तक छन्। यही फाईदा उठाएर माओवादी, एकिकृत समाजवादी र जसपाले कतिपय स्थानीय तह आफनो भागमा पार्न सफल भएका छन् ।

जनकपुर, वीरगञ्ज, पोखरालगायतका स्थानीय तह कांग्रेसले अरुलाई छोडेको भन्दै कांग्रेस भित्र तिव्र असन्तुष्टि छ। यसै क्रममा नेपाली कांग्रेस, जनकपुरधाम उपमहानगरपालिकाका सभापति मनोज साहले पार्टी परित्याग गरेको घोषण गरेका छन् ।

जनकपुरको मेयरमा जनता समाजवादी पार्टी (जसपा) लाई समर्थन गर्ने पार्टीको निर्णयप्रति असन्तुष्टि जनाउँदै उनले राजीनामा दिए। शुक्रबार पत्रकार सम्मेलन गरेका साहले  जनकपुरमा पार्टी मजबुत हुँदाहुँदै जसपालाई समर्थन गर्ने पार्टीको निर्णय आत्मघाती भएको बताए ।

यसप्रति जिल्ला सभापतिसहित अधिकांश नेता रूष्ट रहेको र आफूसहित १५० जनाभन्दा बढीले पार्टी छाडेको बताएका उनले अब स्वतन्त्र रुपमा मेयरमा उम्मेदवारी दिने पनि बताए ।

सभापति देउवाको गृह जिल्ला कैलालीमा पनि वडा सभापतिसहित ९१ जनाले सामूहिक राजीनामा दिएका छन् । कैलाली प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको बसोबास रहेको जिल्ला हो । देउवा पत्नी आर्जुले अघिल्लो संघीय चुनावमा धनगढीमा घर किनेकी थिइन् । 

जिल्लाको धनगढी उपमहानगरपालिका–१८ का वडा सभापति भक्तबहादुर थापासहितका क्रियाशील सदस्यहरूले शुक्रवार कांग्रेसका विभिन्न तह र जनवर्गिय संगठनबाट राजीनामा दिएका हुन। 
 

विशेष