News

पोखरामा मेयर जित्न गठबन्धनलाई फलामको च्युरा, यस्तो छ नालिवेली

पोखरामा मेयर जित्न गठबन्धनलाई फलामको च्युरा, यस्तो छ नालिवेली

स्थानीय तह निर्वाचनमा नेकपा एमालेलाई घेरावन्दी गर्ने रणनीति बनाएका सत्तारुढ दलका नेताहरुले देशभरका स्थानीय तह भागवण्डा गरेका छन्। जुन स्थानीय तहमा जस्को पकड वलियो छ, उसैलाई नेतृत्व दिने सहमति गरेर बाँडफाँड गर्न वसेका दलका शिर्ष नेताहरु ६ महानगरपालिका भाग लगाउने क्रममा ‘ऐँ–ऐँ’ भए, तर तीन दिनसम्म पनि सहमतिमा पुग्न सकेनन्। त्यस्को एउटै मात्र कारण थियो– नेकपा एमाले गढ र कांग्रेसको चर्को विरोधका विचमा पोखराको मेयरमा नेकपा एकिकृत समाजवादीको दावी।

पोखराका मेयर अरुलाई नदिन कांग्रेस सभापति शेरबहादुर देउवालाई चर्को दबाब थियो। पोखराका कांग्रेसीहरुले काठमाण्डौं आएर देउवालाई पटक–पटक भेटे। जिल्लामा अभियान नै चलाए। यति हुँदा पनि माधबकुमार नेपालको जिद्धिका अगाडि देउवाले घुँडा टेके। तर, मेयर छोड्नु भन्दा अगाडि देउवाले नेपालसँग पोखरामा जित्ने ग्यारेण्टी खोजे। नेपालले पनि एकीकृत समाजवादी कास्कीका अध्यक्ष एवम मेयरका दाबेदार धनराज आचार्यलाई काठमण्डौं बोलाए ।

काठमाडौं आएर माधव नेपाल र देउवालाई व्रिफिङ गर्ने क्रममा एकीकृत समाजवादीले जित्ने आधारहरुको फेहरिस्त सुनाए । १२ हजार कार्यकर्ता रहेको बताएका उनले एमालेमा मत पनि तान्न सकिने आधार देखाए। आचार्यको विफ्रिङ सुनेपछि देउवा पोखरा महानगरपालिका एकीकृत समाजवादीलाई दिन राजी भए। त्यसपछि देउवाले कांग्रेस पोखराका नेताहरुलाई काठमाण्डौं बोलाए र गठबन्धनको उम्मदेवारलाई जिताएर पठाउन निर्देशन दिए ।

तर, ‘मेयर मागेको समाजवादीलाई एउटा वडाध्यक्ष पनि नदिने’ भन्दै आएका कांग्रेस कार्यकर्ताले पोखराको कांग्रेस कार्यालयमा तालाबन्दी नै गरे। अन्तिम समयमा उनीहरु नरम भएका छन् । समाजवादीले मेयरको तयारी सुरु गरेको छ।

यस्तो थियो ०७४ को चुनावी नतिजा
०७४ सालको स्थानीय तह चुनावमा पोखरामा १ लाख ६८ हजार ६९ मतदाता थिए। हाल ३९ हजार ६ सय ४३ मतदाता बढेर २ लाख ७ हजार ७ सय १२ मतदाता पुगेका छन् । ५ वर्षको अवधिमा महानगरपालिकाहरू मध्ये सबैभन्दा धेरै मत पोखरा महानगरपालिकामा बढेको हो । 


अघिल्लो चुनावमा पोखरा लेखनाथ महानगरपालिकाका ३३ वटै वडा एमाले र कांग्रेसले कब्जा गरेका थिए । २२ वडामा एमाले र ११ वटा वडामा काँग्रेस विजयी भएको थियो । अघिल्लो चुनावमा पोखरा लेखनाथ महानगरपालिका प्रमुखमा एमालेका मानबहादुर जिसी निर्वाचित भएका थिए । जिसीले ६० हजार ११८  मत पाएर महानगर प्रमुखमा विजयी भएका थिए । उनले आफ्ना निकटतम प्रतिस्पर्धी काँग्रेसका रामजी कुँवरलाई १३ हजार ७०२ मत अन्तरले पराजित गरेका थिए । निकटतम प्रतिद्वन्द्वी कुँवरले ४६ हजार ४१६ मत प्राप्त गरेका थिए । 

यस्तै संघीय समाजवादी फोरम नेपालका हुमबहादुर गुरुङले ३ हजार १७० मत, राप्रपाका रिता गुरुङले २२ सय ७२ मत, अखण्ड नेपाल पार्टीका उम्मेदवार मोती गिरीले २ सय ९६ मत, नेकपा मालेका उम्मेदवार टेकनाथ भण्डारीले २ सय ९८ मत, राष्ट्रिय जनमोर्चाका उम्मेदवार चन्द्र बहादुर खत्री क्षेत्रीले २०६ मत र स्वतन्त्र उम्मेदवार अमन विक्रम थापाले १४० मत ल्याएका थिए ।  

महानगरपालिकाको उपप्रमुखमा नेकपा एमालेकी मञ्जुदेवी गुरुङ निर्वाचित भएकी थिइन । उनले ५६ हजार ४४८ मत प्राप्त गर्दा उनकी निकटतम प्रतिद्वन्द्वी काङ्ग्रेसकी सरस्वती गुरुङले ४४ हजार ३ सय ३८ मत पाएकी थिइन् । माओवादी केन्द्रका उम्मेदवार गोमा ढकालले  ८ हजार ७ सय ९६ मत,  राप्रपाका रमेशबहादुर खत्रीले २ हजार ८ सय ४० मत, स्वतन्त्र उम्मेदवार सिरोज कोइरालाले २ हजार १सय ९९ मत पाएका थिए ।

कति सहज छ एकीकृत समाजवादीलाई पोखरामा मेयर जित्न ?
जानकारहरुका अनुसार पाँचदलीय गठबन्धनमा पोखराको मेयरको टिकट पाउन एकीकृत समाजवादीलाई जति कठिन भयो, मेयर जित्न त्यो भन्दा कठिन छ। एमाले विभाजन भएर एकिकृत समाजावदी बन्दा एमालेबाट निर्वाचित पोखराका कुनै पनि जनप्रतिनिधिले टसमस गरेका छैनन । 

एकीकृत समाजवादीबाट भएको क्षति संघीय समाजवादीका मेयरका उम्मेदवार हुम गुरुङ, जनता समाजवादीका नेता गणेश गुरुङ लगायत एमाले प्रवेशबाट पूर्ति भएको एमालेको दाबी छ । अघिल्लो निर्वाचनकै परिणामले माओवादी केन्द्र कमजोर देखिएको छ भने जनता समाजवादी र राष्ट्रिय जनमोर्चा त्योभन्दा कमजोर छन् । त्यो परिणाम हेर्दा अहिले पनि एमालेलाई पोखरामा सहज छ ।

अघिल्लो निर्वाचनमा करिब १४ हजार मतान्तरले जीत निकालेको एमालेले यसपालि पनि १० देखि १५ हजार मतान्तरले विजयी हुने दाबी गरेको छ । कांग्रेस मात्र हुँदा जति मतान्तरले चुनाव जितिन्थ्यो, गठवन्धन हुँदा त्यो भन्दा भारी मतले आफुहरु विजयी हुने एमालेको दावी छ। ‘कांग्रेस एक्लै प्रतिस्पर्धामा आउँदा कम मतान्तर हुन सक्थ्यो’ एमाले पोखरा महानगरपालिका कमिटीका अध्यक्ष दीलिप न्यौपाने भन्छन्–‘तर कांग्रेसको वैशाखी टेकेर सानो पार्टी प्रतिस्पर्धामा आउँदा एमालेलाई अझै सहज भएको छ।’

एमाले त्यसै पनि बलियो रहेको र त्यसमाथि गठबन्धनमा एकमना नभएकाले त्यसको फाईदा एमालेलाई हुने न्यौपानेको दावी छ। ‘१/२ जना आफन्त परिवारको मत तान्छु भनेर एमालेकै धेरै मत ल्याउँछु भन्ने नसोचे हुन्छ’ समाजवादीका उम्मेदवार धनराज आचार्यप्रति लक्षित गर्दै उनले भने–‘पार्टी नै छोडेर हिँडेपछि हिजोको लिगेसीले चुनाव जित्छु भन्नु दिवास्वप्न मात्रै हो।’

तर एकीकृत समाजवादीका नेताहरुले भने गठबन्धनमा आवद्ध दलहरुले अनुशासनपूर्वक भोट हाले ८ देखि १० हजार मतान्तरले एमालेलाई हराउने दाबी गरेका छन् । पोखरामा ५ हजारभन्दा बढी संगठित सदस्य र २०/२५ हजार मतदाता रहेको समाजवादीका नेताको दावी छ। यो दावीलाई गठबन्धनमै आवद्ध दलले पत्याएका छैनन् ।

यता, पोखराको मेयर एकीकृत समाजवादीको भागमा परेपछि कांग्रेस कार्यकर्ता भने रुष्ट छन्। गठवन्धनको निर्णय अवज्ञा गर्दै महानगर समितिले पार्टी कार्यालयमा तालाबन्दी गर्यो। कास्कीका कांग्रेस नेताहरुले ७० हजार भोट अरुलाई खन्याएर अर्को दलका उम्मेद्वारलाई जिताउन नहुने तर्क गरे।

तर, अन्तिम समयमा कांग्रेस कार्यकर्ताले कास्की कांग्रेस कार्यालयमा गरेको तालाबन्दी खोल्ने निर्णय गरे र गठवन्धनको निर्णय स्वीकारे। कास्की कांग्रेसको अबको ध्यान उपमेयरतर्फ केन्द्रित रहेको स्रोतको भनाई छ।


‘केन्द्रले निर्णय गरिसक्यो, अब रिसले खाँबो चिथोरेकोजस्तो गरेर भएन’,एक कांग्रेस नेताले भने,‘ जे हुनु भयो, हाम्रो अधिनमा नभएको कुरामा बखेडा झिकेर के गर्नु भन्ने नै देखियो।’ 


सेती वारी र पारीको सम्वन्ध
राज्य पुनर्संरचना गर्दा पोखरामा लेखनाथ नगरपालिकालाई पनि गाभिएको छ। ०७४ को स्थानीय तहको निर्वाचनमा त्यही क्षेत्रका मानबहादुर जिसी एमालेबाट मेयरको उम्मेदवार बनेका थिए।

पोखरा महानगरमा सेती वारी (पोखरा क्षेत्र) र पारी (लेखनाथ क्षेत्र) भनेर छुट्याउने चलन छ । अहिले पनि वारी र पारीका मानिस भावनात्मक रुपमा एक हुन सकेका छैनन्। तुलनात्मक रुपमा विकास निर्माणमा फरक छ। वारीको तुलनामा पारीको विकास निर्माण सुस्त छ। ‘अब चुनावमा भूगोल जोड्ने गरी जस्ले उम्मेदवार उठाउँछ, जित उसैको हुन्छ’ तत्कालीन लेखनाथ नगरपालिकाका मेयर शालिकराम पौडेलले भने–‘लेखनाथ क्षेत्रबासीले पनि अपनत्व लिन सक्ने उम्मेदवार उठाउन सके नतिजा आफनो हातमा पार्न सहज हुन्छ।’

यस्ता छन् उम्मेदवार
गठवन्धनमा धनराज आचार्य, श्रीनाथ बराल र दिलु पन्तको नाम मेयरको आकांक्षीमा छन् । पूर्व स्ववियु सभापति हुँदै विभिन्न संघ, संस्था र लामो समय एमालेबाट बिताएका धनराज लेखनाथ क्षेत्र पोखरा–३३ का हुन् । लामो समय एमालेमा गुजारेका, जिल्ला विकास समिति कास्कीको पूर्वउपसभापति समेत बनेका बराल अहिले एकीकृत समाजवादीका गण्डकी उपाध्यक्ष छन् । पन्त एकीकृत समाजवादीकी केन्द्रीय सदस्य हुन् ।

तीन जना मध्ये धनराजले नै टिकट पाउने प्राय निश्चित छ। उनले त्यो क्षेत्रमा एमालेको मत काट्न सक्ने अनुमान धेरैको छ । अब कांग्रेसले उपमेयरको उम्मेदवार कसलाई बनाउँछ र गठबन्धनले नयाँ मतदातालाई कति आकर्षित गर्न सक्छन् भन्नेमा पनि निर्भर हुनेछ ।

एमालेमा १२ जना मेयरका आकांक्षी छन्, जसमध्ये प्रदेशसभा सदस्य कृष्ण थापा र राजीव पहारीको उम्मेदवार बन्ने सम्भावना सकिएको छ । एमालेले प्रदेशसभा सदस्यलाई स्थानीय तहमा उम्मेदवार नबनाउने निर्णय गरेको छ । पोखरा महानगरकी उपमेयर मञ्जुदेवी गुरुङले निवेदन दर्ता नगरे पनि उनले टिकट पाउनेसक्ने चर्चा एमालेवृत्तमा छ ।

मञ्जुदेवीले मेयरको टिकट पाइन् भने लेखनाथ क्षेत्रबाट रश्मी आचार्य वा दीलिप न्यौपानेको उपमेयरको उम्मेदवार हुनसक्ने अनुमान पनि नेता कार्यकर्ताको छ । धनराजको व्यावसायिक साझेदारसमेत रहेका एमालेका पुष्पज्योति ढुंगानालाई प्रमुख दाबेदारका रुपमा हेरिएको छ ।

उनीहरु मिलेर धेरै ठाउँका हाइड्रोमा लगानी गरेका छन् । धनराजकै गाउँका रश्मी आचार्यलाई मेयर बनाउनसक्ने आंकलन पनि एमालेजनमा छ । एमाले वा गठबन्धनबाट कसले चुनाव जित्छ भन्ने विषय भूगोल र उम्मेदवारको व्यक्तिगत सम्बन्धले पनि फरक पार्ने पोखराका पूर्व मेयर शालिकराम पौडेल बताउँछन् । 

पोखरा

विशेष