News

शिक्षक सेवा आयोगको प्रश्नपत्र बजारमा लिलामी, अडियो सम्वाद सार्वजनिक

शिक्षक सेवा आयोगको प्रश्नपत्र बजारमा लिलामी, अडियो सम्वाद सार्वजनिक

शिक्षक सेवा आयोगको जारी परिक्षामा दलालहरुले प्रश्न पत्र आउट गरेको आशंका वढेको छ। तीन लाख रुपैयाँमा प्रश्न पत्र हातमा पुर्यादिने भन्दै पैसाको दलाली भईरहेको अडियो रेकर्ड सार्वजनिक भएपछि प्रश्न पत्र आउट भएको आशंका गरिएको हो ।

तीन लाख रुपैयाँमा प्रश्न पत्र हातमा पाईने भन्दै कुराकानी भएको अडियो रेकर्डमा डेढ लाख रुपैयाँ तत्काल र डेढ लाख रुपैयाँ पछि दिँदा हुने जनाईएको छ। दुई जनाको सम्वादमा दिपा नामकी महिलाको नाम लिईएको छ । तर, सम्वाद गर्ने को–को हुन र कहाँबाट प्रश्न पत्र आउँछ भन्ने कुरा खुलेको छैन।

पैसा दिएपछि प्रश्नपत्र पाइन्छ, भन्दै एक ब्यक्तिले अर्का ब्यक्तिलाई पैसा पठाउँन दबाव श्रृजना गरिरहेको अडियोमा सुन्न सकिन्छ। कुरामा कुनै तलमाथि हुँदैन एक सय प्रतिशत प्रश्न पत्र पाईन्छ भन्दै उनले विश्वास दिलाईरहेका छन् । काम नभए तत्कालै पैसा फिर्ता हुने पनि उनले जनाएका छन् ।

अर्को ब्यक्तिले भने प्रश्न पत्र कहाँबाट आउँछ, प्रश्न पत्र दिने ब्यक्ति कर्मचारी हुन की अन्य कोही ब्यक्ति हुन ? भन्ने स्पष्ट हुन खोजेका छन् । भोलीका दिनमा काम नभए पैसा पनि डुब्ने र मुद्दा मामिला गर्न पनि नसकिने भन्दै उनले त्यसमा थप प्रष्ट हुन खोजेका छन्। तर, प्रश्न पत्र दिलाउने ब्यक्तिले भने ‘यो नेपाल हो, यहाँ चै तपाईको सप्पै कुराहरु यसरी सेटिङबाट नै हुन्छ। भोली शिक्षक सेवा आयोग फेरी पनि खुल्दैन हैन। स्थायी जव भनेको स्थायी जव हुन्छ। वर्षको ५ लाख÷६ लाख रुपैयाँ आईहाल्छ। यो धेरै राम्रो हो, यो चान्स हो, गोल्डेन अफर हो। खासमा यस्तो कुराहरुमा लोभ गर्नु हुँदैन’ भन्दै अर्को ब्यक्तिलाई विश्वास दिलाएका छन् ।

पैसा डुब्ने होकी भन्ने आशंकमा ति ब्यक्तिले भनेका छन्–‘त्यस्तो टेन्सन हुँदैन, केही त्यस्तो रिस्क त आफुले लिनुपर्ने हुन्छ। जस्तो भोली फिर्ता भएपनि त त्यो रिस्क त लिएकै हो। त्यस्तो हुँदैन, तपाई ढुक्क हुनोस। मैले विश्वासमै काम गर्ने हो।’ उनले पैसा विना काम नहुने उनले वताएका छन् । 

अर्को तर्फ सेडेप नेपालका श्रोत ब्यक्ति डा. दत्तात्रय दहालले लेखेको ‘गुरु’ र ‘गुरु टु’ नामको पुस्तकबाटै प्रश्नपत्र आउने भन्दै प्रचार गरिएको भिडियो पनि सार्वजनिक भएको छ। भिडियोमा जुम मिटिङको प्रयोग गरेर उक्त पुस्तक वाहेक अन्य कुनै पनि पुस्तक नपढ्नु भन्दै परिक्षार्थीहरुलाई आश्वास्त पारिएको छ। 

भिडियोमा उनै दत्तात्रय दहालले फागुन महिनको २० गतेसम्म गुरु पुस्तक तीन पटक पढिसक्न आग्रह गरेका छन् । ‘यो २० गतेसम्म, यो फागुन महिनाको २० गतेसम्म तपाईले तीन चोटी पढिसक्नोस। त्यसपछि तपाई फेरी यो खालको जाँचमा वस्नोस, अव त्यतिवेला तपाईको परिक्षामा सुधार भएन भने, म त तपाईकै क्लासमा हुन्छुनी त। अनि मलाई भन्नोस। तर तीन चोटी पढिसक्नोस’ उनले भनेका छन्–‘अरु कुनै किताव नहेर्नोस, कुनै पनि । कुनै पनि, मात्रै गुरु वुक पढ्नोस। मात्रै तीन चोटी। यो महिनाको २० गतेसम्म।’

दहालले आफुहरु रणनीतिक रुपमा अगाडि वढेको वताएका छन् । ‘हामी के गर्दैछौ भने रणनीतिक हिसावले, तपाईहरु पास हुनुपर्छ। तपाईहरुलाई यो महिनाभित्र हामीले कोर्ष सक्छौ। सवै कोर्ष सक्छौ। चैत १ गतेदेखि कम्तीमा दुई हप्ता वेलुका यसैगरी दुई घण्टा समय छुट्याउँछौं। आधा समय मुल–मुल कन्टेन्टको वारेमा तपाईहरुलाई भन्छो र आधा समय कैशन एन्सर यहाँबाट गछौं।’ उनले भनेका छन्–‘तर, त्यो आईडि र पासवर्ड जल्ले एड्मिसन गर्नु भाको छ, त्यो भन्दा वाहेकलाई दिन पनि पाउनु हुन्न। त्यहाँ भित्र धेरै सेक्रेट कुराहरु तपाईलाई आउँछ। त्यो भन्दा वढि भन्न मिल्दैन। विशुद्ध परिक्षा केन्द्रित कृयाकलाप हामी गर्छौ।’

उनको यो भिडियो आउट भएपछि देशभर प्रश्नपत्र आउट भएको विषयमा चर्चा छ। खास गरी चैत १५ गते भएको मावि तहको सामान्य परिक्षामा सोधिएका प्रश्नहरु र तिनको गोपनियता र वैधता प्रति प्रश्न उठेको छ।

दहालले लेखेका दुई वटा पुस्तक मध्ये ‘गुरु’ बजारमा उपलब्ध हुनु र ‘गुरु टु’ नामक पुस्तक सम्बन्धित इन्स्टिच्युटमा अध्ययन गर्ने बिधार्थीलाइ मात्र बितरण गरी बजार नपठाउनु र अधिकाशं प्रश्न उही पुस्तकबाट, उही स्वरुपमा अलिकति पनि परिमार्जन नगरी समावेश हुनु संयोग मात्र नभएकोले यस्को निश्पक्ष छानविन गर्नु पर्ने आवाज उठिरहेको छ।

अर्कोतर्फ वजारमा उपलब्ध अन्य केहि पुस्तकहरु करिब १२५० पेजका करिव १ हजार ३ सयमा प्राप्त हुनु र गुरु नामको पुस्तक ३६५ पेजकै करिव १ हजार पर्नुले पनि प्रश्न आउट भएको विषयमा शंका गर्ने ठाउँ रहेको कतिपयको वुझाई छ।

भौतिक गुण एउटै भएर पनि उक्त पुस्तकको मुल्य बढि किन राखियो? र ‘गुरु टु’ बजारमा किन आएन ? भन्दै सर्वत्र प्रश्न उठेको छ। एउटा प्रहरी जवानको परिक्षा लोकसेवा आयोगले लिने तर, लाखौ विद्यार्थीको भविष्य निर्धारण गर्ने शिक्षकको परिक्षा बजारमा पुस्तक बेच्ने २÷४ जना लेखकले तयार पारेको प्रश्नका आधारमा लिईनुले पनि विकृती वढेको भनदै प्रश्न पत्र आउट गरेर लिईने यस्तो परिक्षाको अन्त्य गर्न माग गरिएको छ।
 

शिक्षक सेवा आयोग

विशेष