News

ओलीको गृहनगरमा गठवन्धन भताभुङ्ग, कांग्रेसले राप्रपालाई सघाएपछि विच्कियो माओवादी

ओलीको गृहनगरमा गठवन्धन भताभुङ्ग, कांग्रेसले राप्रपालाई सघाएपछि विच्कियो माओवादी

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह नगर दमकमा गठवन्धनका दलहरुबीच हानाथाप सुरु भएको छ। मेयरको उम्मेदवार कस्ले लिने भन्नेमा कुरा नमिलेपछि माओवदी केन्द्रले गठवन्धन तोडेर आफनै उम्मेदवार उठाउने तयारी गरेको छ।

यसअघि दमकको मेयर माओवादी केन्द्रलाई दिने अनौपचारिक सहमति गठबन्धनका दलबीच भएको माओवादी नेताहरूको दाबी छ । तर, कांग्रेसले त्यसमा असहमति जनाएर राप्रपामा उम्मेदवारलाई समर्थन गर्ने भएपछि माओवादी रुष्ट वनेको हो ।

कांग्रेसले राप्रपाका राम थापालाई दमकको मेयरका लागि साझा उम्मेदवार बनाउन छलफल गरिरहेको छ । कांग्रेसले थापालाई मेयरको उम्मेदवारमा समर्थन गरे माओवादीले गठबन्धनमा रहन नसकिने चेतावनी दिएको हो । 

कांग्रेसले राप्रपासँग तालमेल गर्न गए माओवादीले रेवतराज पुरी ‘गगन’लाई मेयरको उम्मेदवार बनाएर एक्लै चुनावमा जाने सो पार्टीका दमक नगर प्रमुख रवि बस्नेतले बताए । थापा राप्रपा प्रदेश नम्बर १ का अध्यक्ष हुन् भने गगन माओवादी केन्द्र प्रदेश १ का कोषाध्यक्ष हुन् ।  

एमालेले भने बहालवाला उपमेयर गिता अधिकारीलाई मेयर उठाउने लगभग टुंगो लागेको छ । उनी एमाले केन्द्रीय सदस्य समेत हुन् । दमकमा स्थानीय सरकारको पहिलो निर्वाचनमा १० वटा वडामध्ये आठवटा वडा र प्रमुख, उपप्रमुख एमालेले जितेको छ।

०७४ को स्थानीय तहको निर्वाचनको मत परिणामका आधारमा दमकमा एमालेपछि दोस्रो नम्बरमा राप्रपा छ । त्यसपछि माओवादी र कांग्रेस छन् । पार्टी विभाजनको सामान्य असर दमक एमालेमा पनि छ । राप्रपासहितको विपक्षी गठबन्धन बनाउने तयारी हुनजेल एमालेलाई दबाब थपिएको थियो।

सुरुमा एमालेबाहेकका दल राप्रपा, माओवादी, कांग्रेस, नेकपा (एस), जसपा संघीय लिम्बुवान पार्टी नेपाललगायतले एमालेविरुद्ध गठबन्धन गर्ने निणर्य गरिसकेका थिए । पद बाँडफाँड नगरीकन भएको छलफल अहिले आएर लथालिङ्ग भएको छ। 

यसको फाईदा भने एमालेले उठाउने छ। मेयर माओवादी, उपमेयर राप्रपा र कम्तीमा सातवटा वडा कांग्रेसलाई दिएर गठबन्धन गर्ने अनौपचारिक छलफल भएपनि अन्तिम अवस्थामा राप्रपा विगतमा पनि दोस्रो भएका कारण उसलाई मेयर दिएर कांग्रेसले उपमेयर राख्ने गरी छलफल हुन थालेपछि माओवादी विच्किएको वताईन्छ।

दमक गठवन्धन

विशेष