News विदेश रोजगार

दलालको भर पर्दा दुवईमा अलपत्र, मन्त्रीको भाषण मात्रै

दलालको भर पर्दा दुवईमा अलपत्र, मन्त्रीको भाषण मात्रै

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ (किसान) रोजगारीको प्रलोभन देखाएर अलपत्र पार्ने म्यानपावर कम्पनी र दलालहरुलाई ठाउँको ठाउँ ठिक पार्ने भाषण गर्छन। कहिलेकाही त उनी वैदेशिक रोजगार कार्यालय र म्यानपावर कम्पनीमा छड्के गर्न पनि पुग्छन्। 

०७८ माघ पहिलो साता मन्त्री बनेपछिको उनको दैनिकी यसरी नै चलेको छ। तर, बाध्यताले विदेशीनु पर्ने नागरिकका समस्या भने ज्यूँकात्यूँ छन् । बोलिमा मात्र सुनिने तर, काममा नदेखिने उनको प्रतिवद्धतामा नत सेवाग्राहीले विश्वास गर्न सकेका छन् छन, नत म्यान पावर कम्पनी र दलालले नै टेर्छन। 

यसैविचमा पनि दलाल र म्यानपावर कम्पनीको झुठो आश्वासनमा परेर रौतहटका केही ब्यक्ति दुवईमा अलपत्र परेका छन्। पर्याप्त काम, ओभर टाईम, खानेवस्ने सुविधासहित मासिक १ हजार दिराम न्यूनतम तलव सुविधा छ भन्दै उनीहरुलाई दुवई पुर्याईएको थियो। तर, दुवई पुगेको तीन महिनासम्म पनि उनीहरुले काम भेटेका छैनन्। ‘बन्द हुनै लागेको कम्पनीमा ल्याएर राखिएको छ। हप्तामा दुई दिनभन्दा काम  छैन’ पीडित मध्येका एकले भने–‘महिनाको अढाई/तीन सय  दिराम कमाएर के खानु, कहिले ऋण तिर्नु र कहिले घर फर्कनु।’

काठमाण्डौंबाट दुवई आउन आफुहरुले प्रतिब्यक्ती डेढ लाख रुपैयाँ दलाल मार्फत म्यान पावर कम्पनीमा वुझाएको उनले वताए । उनीहरुले भने अनुसारको पैसा दिएर पनि सम्झौता अनुसारको काम नपाउँदा आफुहरु अलपत्र परेको उनको गुनासो छ।

नवलपरासी घर वताउने तर, तिलगंगा काठमाण्डौंमा वस्दै आएका दलाल नरेश साहले उनीहरुलाई वसुन्धारा स्थित आयुष म्यानपावर पुर्याएका थिए । म्यानपावरका डाईरेक्टर रोहित माझीले नरेशसँगै सवै कुरा फाईनल गर्न भनेपछि आफुहरुले डेढ लाखका दरले पैसा वुझाएको र न्यूनतम १ हजार दिराम तलव र अन्य सुविधासहितको सम्झौतामा हस्ताक्षर गराएको पीडितहरुले जानकारी दिए ।

तर, अहिले भनेजस्तो काम र दाम दुवै नपाएपछि उनीहरुले आफन्त मार्फत म्यानपावर र दलाल विरुद्ध काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवन काठमाण्डौंमा उजुरी दिएका छन् । उजुरीमा आफुहरुलाई नेपाल फर्काउन, आफनो लगानी फिर्ता पाउन, सम्झौतामा उल्लेख भए अनुसार हालसम्मको न्यूनतम तलव भराउन र ठगी गर्ने म्यान पावर र दलाललाई कारवाही गर्न माग गरिएको छ।

तर, उक्त उजुरीमा पनि तत्कालै न्याय पाउने गरी काम नभएको उनीहरुले गुनासो गरेका छन् । उनीहरुलाई दुवई पुर्याउने दलाल नरेश साहले पनि सम्झौता अनुसार काम नभएको स्विकार्दै उनीहरुलाई नेपाल फर्काउन  आफुले म्यानपावर कम्पनीमा दवाव दिईरहेको वताए ।  उनीहरुको मागको विषयलाई पनि म्यान पावर कम्पनीले ब्यहोर्नु पर्ने उनको भनाई छ। आफुले उनीहरुलाई विदेश पठाउन मध्यस्थकर्ताको भुमिका मात्रै खेलेको वताएका उनले कमिशनका नाममा एक रुपैयाँ पनि नलिएको दावी गरे ।

आयुष म्यानपावर कम्पनीका डाईरेक्टर रोहित माझीले भने फोन नउठाएका कारण उनको प्रतिक्रिया लिन सकिएको छैन।
 

विशेष