News

राष्ट्र बैंकको सूचना बेचेको आशंकामा यसरी जोडिदैछ अर्थमन्त्री र डेपुटी गर्भनरको नाम

राष्ट्र बैंकको सूचना बेचेको आशंकामा यसरी जोडिदैछ अर्थमन्त्री र डेपुटी गर्भनरको नाम

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई सूचना चुहाएको आरोपमा चैत अन्तिम साता सरकारले निलम्बन गर्यो । सर्वोच्च अदालतको अल्पकालीन अन्तरिम आदेशले उनी काममा त फर्किएका छन् तर उनीमाथि कारवाहीको तरवार अझै पनि झुण्डिएकै छ। 

अधिकारीलाई हटाउन अर्थमन्त्री जनार्दन शर्माले सरकारसँग गरेको सिफारिसमा लगाईएको आरोप पुष्टि होला÷नहोला तर, उनको जागिरै धरापमा पर्ने गरी सुचना चुहानमा बैंककै उच्च तहका कर्मचारी संलग्न भएको आशंका गर्न थालिएको छ।

एलसी रोकिनुभन्दा ठीक ४ दिनअघि विवादित पृष्ठभुमीका ब्यापारी सुहृद घिमिरे र पुरुषोत्तम पौड्यालको कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालिले ठूलो संख्यामा बिलासी गाडीको आयातका लागि ७० करोडभन्दा वढिको प्रतीतपत्र खोलेको खुलासा भएपछि शंकाको घेरा चारैतर्फ फैलिएको छ।

कतिपयले एलसी बन्द हुँदै गरेको सूचना नेपाल रास्ट्र बैंकको ‘विदेशी मुद्रा व्यवस्थापन विभाग’ बाट चुहिएको आशंका गरेका छन् भने कतिपयले अर्थमन्त्री जनार्दन शर्मालाई नै शंकाको नजरले हेरेका छन्। राष्ट्र बैंकका दोश्रो श्रेणीका कर्मचारी तथा उनका सल्लाहकार मार्फत अर्थमन्त्री शर्माले नै सुचना चुहाएर कमिशन वटुलेको अर्थमन्त्रालय श्रोतको दावी छ।

यही आशंकालाई थप पुष्टि गर्ने गरी अहिले डेपुटी गभर्नर बमबहादुर मिश्रको नाम शंकास्पद ब्यक्तिको नाममा थपिएको छ। उनी गभर्नर बन्ने लविङमा देखिएका छन् । एमाले पृष्ठभुमीका मिश्र गभर्नर बन्नकै लागि कांग्रेस र माओवादी केन्द्रका नेताहरुसँग भेटिने गरेको आरोप लाग्न थालेको छ। अर्थमन्त्रालय श्रोतका अनुसार नेताहरुमा पनि खास गरी प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्माको नजिकका ब्यक्तिहरुसँग घनिष्टता वढेको छ। 

मिश्र फास्ट ट्रयाकमा हिड्न रुचाउँने ब्यक्तिमा पर्छन। राष्ट्र बैंकमा प्रवेश र छोटो समयमा उनले प्राप्त गरेको सफलतालाई हेर्ने हो भने पनि यो कुरा पुष्टि हुने आधार भेटिन्छन्। ०५९साउन २७ गते सहायक निर्देशकका रुपमा राष्ट्र बैंक प्रवेश गरेका मिश्र १७ वर्षमै कार्यकारी निर्देशकको जिम्मेवारीमा पुगेका भाग्यमानी कर्मचारी हुन। राष्ट्र बैंकभित्र यस्तो सफलतालाई ‘फास्ट ग्रोथ’ भनिन्छ। 

०७६ जेठ २४ गते कामु कार्यकारी निर्देशक बनेका मिश्र साउन २३ गते कार्यकारी निर्देशकमा बढुवा भएका हुन। जापानको टोकियोस्थित नेशनल ग्राजुयट इन्स्टिच्युट फर पोलिसी स्टडीजबाट इकोनोमिक पोलिसीमा एमपीपी (मास्टर्स इन पक्लिक पोलिसी) गरेका छन् ।

विदेशी विनिमय, सुपरिवेक्षण र नियमनमा बिशेष दख्खल राख्ने व्यक्तिका रुपमा मिश्रको पहिचान छ। उनी नविल बैंकका पूर्व कर्मचारी समेत हुन। डेपुटी गभर्नर मिश्रमाथि सुरु भएको आशंकाका विषयमा उनीसँग वुझन खोज्दा सम्पर्क हुन सकेन। उनको प्रतिक्रिया प्राप्त भएपछि प्रकाशन गरिनेछ।
यो पनि,

राष्ट्र बैंक कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालि महाप्रसाद अधिकारी गभर्नर जनार्दन शर्मा डेपुटी गभर्नर बमबहादुर मिश्र

विशेष